काठमाडौं । ललितपुर चेम्बर अफ कमर्शले ‘मेड इन नेपाल’ नारासहित आगामी २२ गते ‘ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो, २०२४’ आयोजना गर्ने भएको छ ।
विद्यमान अवस्थामा आर्थिक गतिविधिलाई बढाउनका लागि एक्स्पो आयोजना गर्न लागिएको हो । ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा चैत २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहने छन् ।
एक्स्पोमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइल्याण्ड, टर्की, मलेसिया, चाइनालगायतका देशहरूमा उत्पादित विविध वस्तु तथा सामग्री, मौलिक उत्पादन र सेवा प्रदर्शन गरिने भएको छ ।
ललितपुर महानगरपालिका सहआयोजक, नेपाल चेम्बर अफ कमर्शको सहयोग, जावलाखेल युथ क्लबको सहयोगमा सञ्चालन हुने एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री प्रदर्शनीमा राखिने छ ।
पहिलो पटक ललितपुरमा आयोजना गर्न लागेको एक्स्पोमा सहभागी राष्ट्रका प्रतिष्ठित व्यापारीहरूको सहभागिता रहने छन् । मेलाको सहयोगी संस्थाका रूपमा लक्ष्मी सनराइज बैंक र नेपाल हस्तकला महासंघ रहेका छन् ।
एक्स्पोले आर्थिक गतिविधिलाई बढाउनुको अतिरिक्त दुबै मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न पनि यस्ता मेलाहरू फलदायी हुने अपेक्षा रहेको ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले बताए । सार्क मुलुकमा निर्मित सामग्रीहरूले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीहरूले अन्य मुलुकमा प्रभाव जमाएको भन्दै अध्यक्ष शाक्यले मेलामार्फत सहभागी देशहरूको उत्पादनको प्रवर्द्धनमा सघाउ पुग्ने अपेक्षा शाक्यले गरे ।
यस्तो मेलाले सहभागी मुलुकका व्यवसायीलाई सामिप्यमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको इन्ट्रोडक्सन ट्रेड शोका मेनेजिङ डाइरेक्टर सुमन महर्जनले बताए ।
मेलाको आकर्षणको रूपमा खानाको लागि विभिन्न देशका स्वादमा फुड स्टल, साना केटाकेटीहरूका लागि गेमिङजोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमका साथै जावलाखेल फुटबल ग्राउण्ड परिसरमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने एक्स्पोका संयोजक सुनिल विष्टले जानकारी दिए ।
मेलामा व्यापार प्रवर्द्घनका लागि अझै पनि केही स्टल बाँकी रहेको भन्दै आयोजक पक्षले नेपाल, भारत, पाकिस्तान र बंगलादेशको कुम्भ मेलामा आफ्नो ब्राण्ड प्रवर्द्घन गर्न र व्यापार गर्न चाहने फर्म तथा कम्पनीलाई पनि आह्वान गरेको छ ।
FACEBOOK COMMENTS