लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका –०७ भाटबेशीमा कुलो भत्किँदा आएको पहिरोले धन्सार पुरिँदा एकै परिवारका चार जना घाइते भएका छन् ।
मंगलबार बिहान करिब २:३५ बजे चितिखोलाबाट भाटबेशीतर्फ ल्याइएको कुलो भत्किएर आएको पहिरोले स्थानीय विष्णु दत्त सुवेदीको ढुंगा–माटोले बनेको दुईतले कच्ची धन्सार पूर्ण रूपमा भत्काएको हो । धन्सार भित्र रहेका चार जना पुरिएको जानकारी प्राप्त हुनासाथ बिहान इलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो ।
प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा पुरिएका चारै जनाको उद्धार गरी प्रारम्भिक उपचारका लागि चिसंखु स्वास्थ्य चौकी, रामबजार पठाएकोमा घाइते चारै जनालाई बिहान ४:१० बजे थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा रिफर गरिएको जनाएको छ ।