काठमाडौं । सरकाले घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट चाहिने प्रावधान हटाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ल्याएको सम्पत्ति शुद्धीकरण तथा आतंकवाद क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा जारी भएको निर्देशन २०८२ संशोधन गरेको छ ।
उक्त निर्देशनबाट घरजग्गा किनबेचमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट अनिवार्य पेस गर्नुपर्ने, केवाईसी भर्नुपर्नेलगायत प्रावधान हटाइएको छ । सर्वत्र विरोधपछि यो व्यवस्था हटाएको बताइएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले जेठ १३ गते स्वीकृत गर्दै जेठ १५ गते देशभरका भूमिसुधार तथा मालपोत कार्यालय र मालपोत कार्यालयहरूलाई यस सम्बन्धमा ‘सर्कुलर’ गरेको थियो ।
घरजग्गा कारोबारमा खरिद–बिक्रीकर्ताको बैंक स्टेटमेन्ट अनिवार्य पेस गर्ने, राजस्व खातामा जम्मा गर्नुपर्ने र बैनाबट्टाको कागजमा खुलाउनुपर्नेलगायत प्रावधान हटाइएको छ ।
यसअघि ‘घरजग्गा खरिद–बिक्रीको कारोबार गर्दा सूचक संस्थाले खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा कारोबार बराबरको रकम जम्मा भएको प्रमाण लिखतसाथ संलग्न गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको थियो । कारोबार रकमको प्रमाण भनिए पनि आममानिसले सम्पूर्ण बैंक स्टेटमेन्ट बुझ्दा हटाउन बाध्य भएको विभाग स्रोतले बताएको छ ।
अब घरजग्गा खरिद–बिक्रीको कारोबार गर्दा १० लाखभन्दा माथि ५० लाख रुपैयाँसम्मको कारोबार बैंकिङ प्रणाली वा विद्युतीय भुक्तानी प्रणालीमार्फत गर्नुपर्नेछ । ५० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार विद्युतीय भुक्तानी प्रणालीमार्फत सोझै र चेकमार्फत गर्दा बिक्रीकर्ताका नाममा तयार गरिएको ‘गुड फर पेमेन्ट’ चेकमार्फत गर्नुपर्नेछ । यसमा केही परिमार्जन गरिएको विभागले जनाएको छ ।
‘बैंकमार्फत राजस्व दाखिला गर्ने व्यवस्था भएका कार्यालयको हकमा १० लाखभन्दा बढीको घरजग्गा कारोबार गर्दा लाग्ने रजिस्ट्रेसनबापतको शुल्क र दस्तुर खरिदकर्ताको खाताबाट र लाभकरबापतको राजस्व बिक्रीकर्ताको खाताबाट सम्बन्धित कार्यालयले तोकिदिएको राजस्व खातामा जम्मा गर्नुपर्नेछ,’ निर्देशनमा भनिएको थियो । यो प्रावधान विभागले हटाएको छ ।
FACEBOOK COMMENTS