हुम्ला । जिल्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाको वडा नम्बर १ देखि ५ सम्मका आठ वटा बस्ती पहिरोको उच्च जोखिममा रहेको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय हुम्लामा आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले ताँजकोट क्षेत्रका विभिन्न आठ वटा बस्ती भिरालो जमिन रहेकाले उच्च जोखिममा रहेको निष्कर्ष निकालेको हो । ताँजकोट गाउँपालिकाको वडा नम्बर १ को कोलपेल्ना, वडा नम्बर २ को दलितबाडा, वडा नम्बर ३ को भ्यालबाडा र रोकायाबाडा, वडा नम्बर ४ को ओखडेना, वडा नम्बर ५ को लोटपाटा र दलित बाडा बस्ती उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी नारायाण पाण्डेयले बताए ।
भिरालो जमिन पहिरोको उच्च जोखिम रहेको भन्दै उनले ताँजकोट गाउँ कार्यपालिकाले पुस ३ गते स्थान्तरणका लागि जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको जानकारी दिए । जोखिममा रहेका बस्ती सुरक्षित स्थानमा स्थान्तरण गर्नका लागि सुरक्षित स्थान पहिचान गरी बस्ती विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिएको छ ।
उक्त बैठकले जिल्लामा विभिन्न समयमा हुनसक्ने विपद्का घटना र त्यसको पूर्व तयारीका विषयमा छलफल भएको सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार बैठकमा जिल्ला विपद् व्यवस्थापन समितिको यसअिघका बैठकबाट भएका निर्णयको कार्यान्वयन अवस्थाका बारेमा समीक्षा एवं विश्लेषण गरिएको थियो ।
त्यसैगरी बैठकले विपद्बाट पूर्ण क्षति भएका घरलगायतका भौतिक संरचना गुमाउन पुगेका २५ प्रभावित परिवारलाई राहतस्वरूप जिल्ला विपद् व्यवस्थापन कोषबाट तीन लाख ३० हजार उपलब्ध गराउने निर्णय गरेको छ । प्रत्येक पीडित परिवारलाई १५ हजारका दरले राहत उपलब्ध गराइनेछ ।
यस्तै मङ्सिर २६ सर्केगाड गाउँपालिका वडा नम्बर ७ रोडिकोट र सिमकोट गाउँपापलका वडा नम्बर ८ यांगु गाउँका आगलागी पीडितको घर पुनर्निर्माणका लागि आवश्यक सहजीकरण गर्न राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण तथा प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा जिल्लाबाट सिफारिस पठाउने निर्णय गरिएको छ ।
FACEBOOK COMMENTS