काठमाडौं । लाइफ कम्प्युटरले आयोजना गरेको आठौँ संस्करणको ‘वेबसाइट निर्माण प्रतियोगिता’को उपाधि क्लिन्टन स्कुलकी छात्रा अङ्किता भट्टराईले जितेकी छिन् ।
बागबजारस्थित होटेल हार्दिकमा भएको सो प्रतियोगितामा देशभरबाट सहभागि ३१० जना प्रतिस्पर्धी विद्यार्थीहरूलाई पछि पार्दै भट्टराईले उपाधि जितेकी हुन् ।
प्रतियोगितामा आइडियल मोडल स्कुलकी दिविशा शिल्पकारले दोस्रो र अमृत सेकेण्डरी स्कुलका प्रतीक श्रेष्ठले तेस्रो स्थान हासिल गरेका छन् । देशभरका विभिन्न विद्यालयबाट सहभागी ३११ विद्यार्थीहरूबीच कडा प्रतिस्पर्धाका बीच ‘टप ट्वान्टी’ र ‘टप टेन’ हुँदै अन्तिममा उत्कृष्ट तीन विद्यार्थीहरूलाई विजेता घोषित गरिएको थियो ।
विजेतालाई एक लाख रूपैयाँ बराबरको ल्यापटप लगायतका अत्याधुनिक उपकरण तथा विशेष पुरस्कारहरू प्रदान गरिएको थियो । ‘टप ट्वान्टी’, ‘टप टेन’ र ‘टप थ्री’ मा पर्न सफल सम्पूर्ण विद्यार्थीहरूलाई विशेष गिफ्ट ह्याम्परद्वारा सम्मान गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।