काठमाडौं । इन्टर मियामीका अर्जेन्टिनी स्टार लियोनेल मेसीले फिलाडेल्फिया युनियनका क्विन सुलिभानलाई थप्पड हानेपछि मेजर फुटबल लिगले जरिवाना गरेको छ ।
बुधबार भएको खेलमा इन्टर मियामी र फिलाडेल्फिया युनियनबीच २-२ को बराबरी भएको थियो । खेल सकिनै लाग्दा आफूले बल खेलाएपछि सुलिभानले कुहिनाले प्रहार गरेको भन्दै मेसीले उनको टाउकोको पछाडिको भागमा थप्पड हानेका थिए ।
मेसीको थप्पडपछि सुलिभान आक्रोशित बनेका थिए । तर, रेफ्रीले तत्काल हस्तक्षेप गर्दै दुवै खेलाडीलाई अलग गरेका थिए ।
मेजर फुटबल लिगले मेसीलाई जरिवाना गरेको पुष्टि गरे पनि जरिवानाको रकम भने सार्वजनिक गरेको छैन । उक्त खेलमा मेसीले इन्टर मियामीका लागि दोस्रो गोल गरेका थिए ।
यो गोल उनका बुबाको निधनपछि पहिलो गोलसमेत थियो । सुलिभानसँग विवादमा परेका मेसी मात्र थिएनन् ।

इन्टर मियामीका इयान फ्रेले पनि सुलिभानको घाँटी समातेपछि उनलाई समेत लिगले जरिवाना गरेको छ । सुलिभानले पेनाल्टी क्षेत्रभित्र सन्तुलन गुमाएपछि दुवै खेलाडीबीच झगडा हुँदा फ्रेले उनको घाँटी समातेका थिए ।
तनावपूर्ण बनेको खेलमा अतिरिक्त समयमा दुई खेलाडीले रातो कार्ड पाएका थिए । इन्टर मियामीका यानिक ब्राइट र सुलिभानका भाइ काभान सुलिभानलाई मैदानबाट बाहिर पठाइएको थियो ।
यद्यपि, खेलको समीक्षा गरेपछि काभानमाथि लगाइएको एक खेलको प्रतिबन्ध भने फिर्ता लिइएको छ ।