काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए बंगलादेशको उच्च प्रदर्शन गर्ने एघारसँग पराजित भएको छ ।
शनिबार सम्पन्न खेलमा बंगलादेश एघारले ९ विकेटले खेल जितेको हो ।
नेपालले दिएको सय रनको लक्ष्य पछ्याएको बंगलादेश एघारले १०.२ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ए ले २० ओभरमा ९ विकेट गुमाएर ९९ रन बनाएको थियो ।
नेपाल ए का लागि कुशल भुर्तेलले सर्वाधिक ४६ रन बनाएका थिए भने शहाब आलम र विपिन खत्रीले ११–११ रन र रिजन ढकालले १० रन बनाएका थिए ।
त्यस्तै बंगलादेशका मोहम्मद रुबेईले सर्वाधिक ४ विकेट लिएका थिए । यो नेपाल ए को लगातार दोस्रो हार हो ।

नेपाल ए ले यसअघि आफ्नो पहिलो खेलमा एनटी स्ट्राइकसँग ८ विकेटको हार बेहोरेको थियो । अस्ट्रेलियाको एनटी स्ट्राइकले आयोजना गर्ने टप एन्ड टी–२० प्रतियोगिता अगस्ट ३० सम्म डार्विनमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा नेपाल ए ले अगस्ट २४ मा हुरिकेन्स, अगस्ट २६ मा एसीटी कमेट्स, अगस्ट २७ मा किङ्सम्यान र अगस्ट २९ मा भिक्टोरियासँग खेल्ने तालिका रहेको छ ।