लघु उद्यमीका लागि सरकारले न्यून ब्याजमा २५ लाखसम्म ऋण दिनेः मन्त्री भण्डारी
कर्पोरट खबर
6:32 am, शनिबार, जेठ १९, २०८१
भक्तपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ उद्योग सञ्चालनका लागि सरकारले सस्तो ब्याजदरमा २५ लाखसम्मको ऋण उपलब्ध गराउने बताएका छन् ।
राष्ट्रिय लघु उद्यमी महासङ्घ नेपालले उद्योग मन्त्रालय र अस्ट्रेलियन एड युएनडिपीको सहयोगमा भक्तपुरमा आयोजना गरेको चारदिने राष्ट्रिय लघु घरेलु व्यापार मेला तथा प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री भण्डारीले दुईदेखि पाँच प्रतिशत ब्याजमा उद्योगीलाई उक्त ऋण सरकारले उपलब्ध गराउने उल्लेख गरे । स्वदेशी उत्पादनका लागि उद्योग सञ्चालनमा अग्रसर हुन उनले आग्रह गरे ।
मन्त्री भण्डारीले भने, “स्वदेशी वस्तु उत्पादन र उपभोगमा सरकारको बढी चासो छ, स्वदेशी वस्तुलाई सरकारले प्रोत्साहन गरेको छ । सरकारी निकायमा प्रयोग हुने कलम, डायरी, जुत्ता, लुगा जस्ता स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर सरकारले खरिद गर्छ ।”
लघु तथा साना उद्यमीलाई सरकारले चासो लिएर सुविधा दिएको उल्लेख गर्दै उनले सरकारका लागि ठूला र साना उद्योगी बराबर भएकाले सानोले महत्व नपाउने भन्ने नहुने बताए । मन्त्री भण्डारीले विदेशबाट फर्केका युवालाई लघु उद्योगमा रोजगार दिने, युवा परिषद्बाट पनि अगाडि बढाउने एवं एउटा पालिकामा १० देखि २० लघु उद्योगलाई अगाडि बढाउने सरकारले नीति अगाडि सारेको बताए ।
कार्यक्रममा राष्ट्रिय लघु उद्यमी महासङ्घका उपाध्यक्ष रीता लामिछानेले लघु उद्योगको क्षेत्र सानो भए पनि ठूलो उद्योग जत्तिकै योेगदान रहेको चर्चा गर्दै युवालाई विदेश पलायन हुनबाट रोक्न लद्यु उद्योगलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताइन् ।
उनले साना उद्योगलाई जोगाउन सकेन भने सरकारले रोजगार बढाउन नसक्ने र युवा पलायन हुने भएकाले लघु उद्योग जोगाउन सरकार लाग्नुपर्ने बताइन् ।
FACEBOOK COMMENTS