जनकपुरधाम । मधेश प्रदेशमा लगातारको सुक्खा र भूमिगत जलस्रोत सुक्दै जाँदा खानेपानीको संकट झनै गम्भीर बन्दै गएको छ ।
यसले गर्दा प्रदेशका विभिन्न जिल्लामा पानी अभाव व्यापक भएको छ ।
खानेपानीको अभावलाई केही हदसम्म कम गर्न प्रदेश सरकारले वारुणयन्त्र र पानी ट्याङ्कर परिचालन गर्न थालेको छ । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार प्रदेश सरकारसँग रहेका ८ वटा वारुणयन्त्र बुधबार बिहानदेखि प्रभावित क्षेत्रमा खटाइएको छ ।
प्रत्येक वारुणयन्त्रमा ५ हजार लिटर पानी अट्ने भएकाले एकपटकमा करिब ४० हजार लिटर पानी वितरण गरिने प्रदेश सरकारले जनाएको छ ।
मुख्यमन्त्री सतिश कुमार सिंहले बुधबार बिहान वारुणयन्त्रहरूलाई प्रभावित क्षेत्रतर्फ पठाउँदै सरकार नागरिकको जीवनसँग जोडिएको आधारभूत सेवाको गम्भीरतापूर्वक सम्बोधनमा जुटेको बताए । ‘‘खानेपानीको संकट समाधानका लागि प्रदेश सरकार दिनरात क्रियाशील छ,’’ उनले भने, ‘‘यसमा नेपाली सेनाको सहकार्य उल्लेखनीय छ ।’’
प्रदेश सरकारले पठाएका वारुणयन्त्रहरू २४ सै घण्टा प्रभावित क्षेत्रमा खटिने छन् । ती वारुणयन्त्रहरूको व्यवस्थापन प्रदेश सरकारले गर्ने र सञ्चालन नेपाली सेनाले गर्ने छ ।
यसअघि प्रदेश सरकारले वन कार्यालयका तीनवटा ट्याङ्कर प्रयोग गरेर पानी आपूर्ति गरिरहेको थियो । अब थप सातवटा ट्याङ्कर र एकवटा वारुणयन्त्र नेपाली सेनाबाट समेत पठाउने तयारी भइरहेको छ ।
मुख्यमन्त्री सिंहले संघीय सरकार, स्थानीय तह र दातृ निकायहरूसँग समन्वय गरी स्रोत साधनको अधिकतम उपयोग गर्दै खानेपानी संकटको दीर्घकालीन समाधान खोजिने स्पष्ट पारे ।
FACEBOOK COMMENTS