काठमाडौं । महात्मा गान्धीको एउटा दुर्लभ चित्र लण्डनमा दुई लाख चार हजार ६४८ डलरमा लिलामी भएको छ ।
यो रकम लिलामी घर बोनह्याम्सको अनुमानभन्दा धेरै बढी हो । पहिले यो तस्बिर ६७ हजार डलरदेखि ९४ हजार डलरसम्म लिलामी हुन सक्ने अनुमान गरिएको थियो ।
यो तस्बिर सन् १९३१ मा महात्मा गान्धीले लण्डन भ्रमण गर्दा बेलायती कलाकार क्लेयर लेइटनले बनाएका थिए । बोनह्याम्सका अनुसार यो एकमात्र ओइल पेन्टिङ हो, जसका लागि गान्धी आफैंले पोज दिएका थिए ।
गान्धीले भारतमा ब्रिटिश शासनविरुद्ध अहिंसात्मक आन्दोलनको नेतृत्व गरे र उनका सिद्धान्तहरूले विश्वभरका लाखौं मानिसहरू प्रेरित छन् । यो तस्बिर सन् १९३१ मा गान्धीको लण्डन भ्रमणको क्रममा बनाइएको थियो, जब उनी भारतका लागि संवैधानिक सुधार र स्वशासनको मागहरू छलफल गर्न आयोजित दोस्रो गोलमेच सम्मेलनमा भाग लिन गएका थिए ।
यो चित्रकला १९८९ मा अमेरिकामा उनको मृत्यु नहुँदासम्म लेइटनको सङ्ग्रहमा रह्यो र पछि उनको परिवारलाई हस्तान्तरण गरियो । बोनह्याम्सले चित्रकला कसले किनेको हो भनेर बताएको छैन । यो अब सार्वजनिक प्रदर्शनमा राखिन्छ वा राखिँदैन भन्ने पनि स्पष्ट गरिएको छैन ।
FACEBOOK COMMENTS