काठमाडौं । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले भ्रष्टाचार र कुशासनको विरुद्धमा भएको जेन जी आन्दोलन तालिमप्राप्त शक्तिहरूले अपहरण गरेको बताएका छन् ।
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवा गर्नुपर्ने तथा भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्नुपर्ने मागसहित भएको आन्दोलन सात समुद्र पारीको ‘मित्र’ले अपहरण गरेको आरोप लगाएका हुन् ।
नेपाल र नेपालीविरुद्ध नेपालीहरूलाई नै प्रयोग गरेर देशको सरकार ढाल्ने, प्रमुख प्रशासनिक केन्द्रहरू ध्वस्त पार्ने र जननिर्वाचित संस्था प्रतिनिधि सभाको हत्या गर्नेलगायत काम भएको उनको भनाइ छ । हामीले चाह्यौँ भने जे पनि गर्न सक्छौँ भन्ने सन्देश विदेशी शक्तिहरूले दिएको उनले बताए ।
‘दक्षिणतिरको मात्र होइन सात समुद्र पारीका मित्रले पनि स्वयम् हाम्रा विरुद्ध हाम्रा युवाहरूलाई नै अरबौँ रुपैयाँ दिएर तयार पारी जेन जी आन्दोलनको नाममा विध्वंश मच्चाइयो,’ महासचिव भट्टले भने, ‘भ्रष्टाचार, कुशासनको विरुद्ध तथा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गर्ने एजेण्डाको आन्दोलनले कसरी देशको हुर्मत लियो ? यो तालिमप्राप्त शक्तिहरूले अपहरण गरेर भयो ।’