काठमाडौं । म्यारियट इन्टरनेसनलका बोर्ड अध्यक्ष डेभिड म्यारियट काठमाडौं आइपुगेका छन् ।
उनी जेडब्लू म्यारियट काठमाडौं भ्यालीका लागि होटल व्यवस्थापन सम्झौताको हस्ताक्षर कार्यक्रममा सहभागी हुन एक दिनअघि अर्थात् ७ जूनमा नेपाल आइपुगेका हुन् ।
नेपाल आगमनका क्रममा उनलाई नेपाली परम्परागत आतिथ्यतासहित न्यानो स्वागत गरिएको थियो, जसले अतिथिप्रतिको नेपाली सम्मान र सद्भावनाको संस्कृतिलाई झल्काएको थियो ।
यस अवसरलाई अझ विशेष बनाउँदै डाउन सिन्ड्रोम सोसाइटीका बालबालिकासँगको आत्मीय भेटघाट तथा काठमाडौं म्यारियटमा कार्यरत डाउन सिन्ड्रोम भएका कर्मचारीहरूको योगदानलाई समेत सम्मान गरिएको थियो । यो केवल औपचारिक स्वागत कार्यक्रम मात्र नभई समावेशिता, सम्मान र सामाजिक उत्तरदायित्वप्रति नेपालको प्रतिबद्धताको प्रतिकात्मक प्रस्तुति पनि थियो ।
डेभिड म्यारियटले म्यारियट इन्टरनेसनलमा २५ वर्षभन्दा लामो समय बिताइसकेका छन् । यस अवधिमा उनले होटल सञ्चालन, बिक्री व्यवस्थापन तथा विभिन्न क्षेत्रीयस्तरका नेतृत्वदायी भूमिकामा रहेर योगदान दिएका छन् ।



हाल बोर्ड अध्यक्षका रूपमा उनले १४६ देश तथा क्षेत्रमा फैलिएका ३० भन्दा बढी प्रतिष्ठित ब्रान्डअन्तर्गत सञ्चालित ९ हजार ९ सयभन्दा बढी होटल तथा सम्पत्तिहरूको विश्वव्यापी नेटवर्कको नेतृत्व गरिरहेका छन् । म्यारियटको ९८ वर्षे इतिहासमा उनी तेस्रो बोर्ड अध्यक्ष हुन् । उनले आफ्ना पिता र हजुरबुबाले निर्माण गरेको म्यारियटको समृद्ध विरासतलाई निरन्तरता दिइरहनुभएको छ ।

यस भ्रमणमा म्यारियट इन्टरनेसनलका वरिष्ठ नेतृत्व टिमका सदस्यहरू पनि सहभागी हुनुहुन्थ्यो । टिममा एसिया प्यासिफिक (ग्रेटर चाइनाबाहेक) का अध्यक्ष राजीव मेनन, एसिया प्यासिफिकका प्रमुख सञ्चालन अधिकृत निरज गोविल, प्रमुख लजिङ प्रोडक्ट एण्ड सर्भिसेज अधिकृत क्रिस्टियानो रिनाल्डी, दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष किरण एन्डिकट, एनआईबीएनका मार्केट उपाध्यक्ष अरुण कुमार तथा दक्षिण एशियाका वरिष्ठ सञ्चालन निर्देशक दिलप्रीत सिंह बिन्द्रा सहभागी थिए । डेभिड म्यारियटको भ्रमणले म्यारियट इन्टरनेसनलले नेपाललाई दिएको महत्त्वलाई थप स्पष्ट बनाएको छ ।

प्राकृतिक, सांस्कृतिक तथा आध्यात्मिक सम्पदाले सम्पन्न नेपालमा अन्तर्राष्ट्रिय पर्यटनको अपार सम्भावना छ । जेडब्लू म्यारियट काठमाडौं भ्याली परियोजनाले नेपाललाई विश्वस्तरीय लक्जरी पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न र उच्चस्तरीय विदेशी पर्यटक आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
काठमाडौंको नक्सालस्थित काठमाडौं म्यारियट होटल नेपालकै अग्रणी लक्जरी आतिथ्य गन्तव्यहरूमध्ये एक हो । म्यारियट इन्टरनेसनलको विश्वव्यापी सञ्जालअन्तर्गत सञ्चालित यस होटलले अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्नुका साथै नेपाली संस्कृति, समुदाय र स्थानीय जनशक्तिसँग गहिरो सम्बन्ध कायम राख्दै आएको छ ।