काठमाडौं । कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टलिजेन्स) को क्षेत्रमा काम गर्ने नेपाली मूलका उद्यमी डा. समीर मास्केको स्टार्टअप कम्पनी फ्युज मेसिन अमेरिकाको स्टक एक्सचेन्ज नास्ड्याकमा सूचीकृत हुने भएको छ ।
सन् २०१३ मा डा. मास्केले सुरु गरेको फ्युज मेसिन इन्क नास्ड्याकमा सूचीकृत हुने भएको हो । डा मास्केले नेपालमा पनि फ्युज मेसिन कम्पनी संचालन गर्दछन् । तर, नास्डयाकमा सूचीकृत हुने फ्युज मेसिन इन्क अमेरिकी कम्पनी हो । नेपालमा संचालनमा रहेको फ्युज मेसिनमा विजनेस अक्सिजनले लगानी गरेको छ । नास्ड्याकमा सूचीकृत हुने कम्पनी फ्युज मेसिन इन्क युएसए हो ।
फ्युज मेसिन इन्कले विभिन्न कम्पनीहरुमा आवश्यक कृत्रिम बौद्धिकताका प्रोडक्टहरु विकास गर्दछ ।
अमेरिकामा मुख्यालय रहेको फ्युज मेसिनले नेपाल, डोमिनिक रिपब्लिकलगायतका देशमा कार्यालय स्थापना गरी आफ्नो काम गर्दै आएको छ । नास्ड्याकमा सूचीकृत हुने लक्ष्यसहित फ्यूज मेसिन र सीएसएलएम एक्विजिसन कर्पबीच मर्जर सम्झौता भएको छ ।
सम्झौतापछि फ्युज मेसिनले चालु पुँजी प्रयोजनका लागि सीएसएलएमबाट झण्डै २ करोड अमेरिकी डलर लगानी प्राप्त गर्ने प्रेस विज्ञप्तिमा जनाइएको छ । फ्यूज मेसिनको कुल मूल्याङ्कन २ सय मिलियन अमेरिकी डलर (२२६ अर्ब रुपैयाँ) हुने गरी मर्जरको सम्झौता भएको अमेरिकाको कोलम्बिया विश्वविद्यालयबाट पीएचडि गरेका डा. मास्केले जनाएका छन् ।
फ्यूज मेसिनका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत मास्केले सो रकमले नयाँ प्रोडक्ट विकास गर्न सहयोग पुग्ने बताएका छन् ।
सन् २०२४ को दोस्रो त्रैमासको अन्त्यसम्ममा नास्ड्याकमा सूचीकृत हुनेगरी मर्जर सम्झौतालाई अगाडि बढाइएको विज्ञप्तिमा जनाइएको छ ।
को हुन् मास्के?
मास्के नेपालमै जन्मे हुर्केका व्यक्ति हुन् । उनी आफ्नो अध्ययनका लागि नेपालबाट अमेरिका पुगेका थिए । उनी कोलम्बिया विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) पूरा गर्न गएका थिए। सन् २०१७ मा उनले नेपालमा विद्यार्थीलाई प्रशिक्षित गर्न एक छात्रवृत्ति कार्यक्रम सुरु गरे र त्यसपछि उनीहरुलाई नै ग्राहकका लागि सोल्युसनहरु बनाउन रोजगारी प्रदान गरे । फ्युजमेसिन्सका सुरुवाती ग्राहकमध्ये द सिटी अफ न्युयोर्क एक हो जसका लागि कम्पनीले हजारौँ च्याटबटहरु सिर्जना गरेको थियो ।
भर्खरैमात्र फ्युजमेसिन्सले आफ्नो प्रशिक्षण कार्यक्रमलाई दक्षिण अमेरिकामा विस्तार गरिसकेको छ भने चाँडै दक्षिण भारतसम्म फैलाउनलागेको छ । त्यस्तै अमेरिकाकै विकासको कम पहुँच भएका क्षेत्रमा समेत यसलाई लैजाने तयारीमा छन् । अहिलेसम्म फ्युजमेसिन्सले ८ सय जनालाई प्रशिक्षित गरेको छ । यसका पाठ्यक्रमहरुमा कम्प्युटर भिजनमा मोड्युलहरु, साधारण भाषा प्रक्रिया र मेसिनबाट सिकाइ समावेश छन् ।
यसअघि उक्त स्टार्टअपले कुल १ करोड डलर बीउपुँजी फ्युचर पर्फेक्ट भेन्चर र डोल्मा इम्प्याक्ट फन्डमार्फत जुटाएको थियो । यसले नेपाल र उत्तर अमेरिकामा कुल ५ सय जनालाई रोजगारी प्रदान गरिरहेको छ ।
FACEBOOK COMMENTS