काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड ११ वर्ष पूरा गरी १२ वर्षमा प्रवेश गरेको छ । ११औं वार्षिकोत्सवका अवसरमा आगामी पाँच वर्षका लागि पाँच वर्षे रणनीतिक योजना तयार गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिएका छन् ।
‘हामीले हलोदेखि हाइडोसम्मको नारा र अभियानका साथ बैंक स्थापना गरेका थियौं, सोही अनुरूप सबैभन्दा बढी चुक्तापुँजी र शेयरधनी भएको बैंकको रूपमा मेगा बैंक स्थापना भयो । त्यही मौलिकतालाई आत्मसात गर्दै हामीले नयाँ रूपमा बैंकलाई अगाडि बढाउने रणनीति तयार गरेका छौं,’ अध्यक्ष शाहले भने ।
राष्ट्र बैंकले प्राथमिकता तोकेको कृषि, ऊर्जा, साना तथा मझौला उद्योग र विपन्न वर्ग कर्जाका साथसाथै आयात प्रतिस्थापन गर्ने, निर्यात प्रबर्धन गर्ने, उत्पादनमुलक तथा रोजगारमुलक उद्योग व्यवसायमा मेगा बैंकको लगानी केन्द्रीत गर्ने शाहको भनाइ छ । देशमा व्यापार तथा रोजगारी सृजना गर्नका लागि साना मझौला उद्योगको विकास, विस्तार र वित्तीय साक्षरता विकासका लागि मेगा बैंकले आगामी दिनमा अन्य संघसंस्थासँग मिलेर अभियान सञ्चालन गर्न लागेको पनि उनले जानकारी दिएका छन् ।
‘युवा वर्ग र वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई स्वरोजगार बनाउन तथा वित्तीय पहुँच स्थापनाका लागि मेगा बैंकले विशेष भूमिका खेल्छ,’ उनले भने । मेगा बैंकको बितेको ११ वर्ष सिकाइ र उपलब्धिका वर्ष रहेको अध्यक्ष शाहको भनाइ छ । ‘यो बीचमा मेगा बैंकले वित्तीय बजारमा छुट्टै पहिचान र ब्राण्ड बनाउन सफल भएको छ,’ उनले भने ।
त्यस्तै मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले संस्थापक, शेयरधनीहरू, सञ्चालक समिति, ग्राहकहरू, नियामक निकाय, कर्मचारीवर्ग र सरोकारवालाहरूको निरन्तर सहयोग र अटुट विश्वासका कारण ११औं वार्षिकोत्सवसम्म आइपुग्दा मेगा बैंकलाई समृद्ध र विशाल बनाउने यात्रामा सफलता हासिल गरेको बताइन् । मेगा बैंकले वित्तीय बजारमा छोटो समयमै अलग्गै पहिचान र ब्राण्ड बनाउन सफल भएकोमा खुशी व्यक्त गर्दै उनले बैंकको सफलताको श्रेय अझ बढी ग्राहक र सर्वसाधारण जनता रहेको बताइन् ।

आधुनिकीकरण र प्रविधिकरणलाई आत्मसात गर्दै मेगा बैंकले ग्राहकहरूलाई अन्यन्तै नवीनतम र आकर्षक डिजिटल बैंकिङ सेवा प्रदान गरिरहेको सीईओ खुञ्जेलीले बताइन् । ‘कोभिड– १९ को विद्यमान अवस्थालाई दृष्टिगत गरी डिजिटल बैंकिड र डिजिटाइजेशनमा प्राथमिकता दिँदै त्यस्तै प्रडक्ट उत्पादन गर्ने र त्यसै अनुरूप ग्राहकहरूलाई लक्षित गर्ने योजना बनाएका छौं,’ सीईओ खुञ्जेलीले भनिन् ।

बैंक सञ्चालनको ११ वर्षको छोटो अवधिको वित्तीय सूचकाङ्कलाई केलाएर हेर्दा मेगा बैंकले व्यावसायिक उचाई हासिल गर्न सफल भएको छ भने आफ्नो सञ्चालन खर्च तथा कोषको लागतलाई न्यून गर्दै ग्राहकहरूलाई एकल अंकको ब्याजदरमा ऋण उपलब्ध गराउन सफल भएको दाबी बैंकको छ । जसले गर्दा कोभिड–१९ को महामारीको मारमा परेका कर्जा ग्राहकहरू र नयाँ व्यावसाय बिस्तार गर्ने तयारीमा रहेका ग्राहकहरूलाई मेगा बैंकले सस्तो ब्याजदरमै विभिन्न किसिमका कर्जा उपलब्ध गराइरहेको जानकारी दिएको छ ।

मेगा बैंकको बितेको ११ वर्षमा पूँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत वृद्धि भएको छ । देशको २८औं वाणिज्य बैंकका रूपमा स्थापना भएको मेगा बैंक चुक्ता पूँजीका हिसाबले छैटौं स्थानमा छ । २०७८ मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करीब १ खर्ब ४५ अर्ब र कुल कर्जा करिब १ खर्ब ४१ अर्ब रहेको छ ।
मेगा बैंकले १ हजार ७०० भन्दा बढी कर्मचारीबाट देशभरका ५८ जिल्लामा फैलिएका १७८ शाखा सञ्जाल, १३७ वटा एटीएम, ३३ वटा एक्टेन्शन काउन्टर र ७१ वटा शाखारहित बैंकिङ सेवामार्फत १२ लाख ४० हजार भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ । छिट्टै नै बैंकका थप १४ वटा शाखाहरू सञ्चालनमा आँउदै छन् ।
बाढीपहिरो पीडितलाई १२ लाख रुपैयाँ सहयोग
यसैबीच आफ्नो ११औं वार्षिकोत्सवका अवसरमा बैंकले सिन्धुपाल्चोक र मनाङका बाढीपहिरो पीडितलाई १२ लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सिन्धुपाल्चोकको हेलम्बुमा ७ लाख रूपैयाँ र मनाङको चामेका बाढीपहिरो पीडितलाई ५ लाख रूपैयाँ सहयोग गरेको जनाएको छ ।
२०७८ असार १ गतेको बाढीपहिरोबाट ठूलो क्षतिसहित प्रभावित बनेका चामे र हेलम्बुको प्रभावित क्षेत्रमा मेगा बैंकको पनि शाखा रहेकाले स्थानीय समुदाय एवम् समाजप्रतिको उत्तरदायित्व बहन गर्दै सो क्षेत्रका समुदायलाई केही सहयोग होस् भन्ने उद्देश्य अनुरूप स्थानीय सरकारमार्फत आर्थिक सहयोग गरिएको मेगा बैंकले जनाएको छ ।
भिडियो-