मेटलाइफ र फरवार्ड नेपालद्वारा सुनसरीका विपन्न परिवारलाई न्यानो कपडा वितरण
सुनसरी । मध्यजाडोमा सुनसरीका गरिब, विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । गढी गाउँपालिकाका दुई सय घरपरिवार तथा दुहवी नगरपालिका-९ स्थित बिङ्गडी टोलका करिब ७० घरपरिवारलाई न्यानो कपडा वितरण गरिएको हो ।
पछिल्लो केही दिनदेखि तराईमा चलेको शीतलहरसँगै चिसो अत्यधिक बढेपछि मेटलाइफ इन्स्योरेन्सको सहयोगमा ग्रामीण महिला विकास उत्सुकता मञ्च (फरवार्ड) ले न्यानो कपडा वितरण गरेको हो ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संयोजन गरेको कार्यक्रममा पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री तथा बहालावाला सांसद भगवती चौधरी तथा मेटलाइफ नेपालका प्रतिनिधि निराजन बुुढाथोकीले न्यानो कपडा वितरण गरे ।

कार्यक्रममा बोल्दै सुनसरी क्षेत्र नं. ३ की सांसद भगवती चौधरीले आर्थिक अवस्था कमजोर भएका नागरिकको जिउधनको सुरक्षामा सबैले सहयोग गर्नुपर्ने बताइन् । सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक व्यावसायिक क्षेत्रले सामाजिक कामहरू गर्दा आर्थिक, सामाजिक रूपमा पछि परेका नागरिकको जीवनस्तर सुधार्न सहयोग पुग्ने सांसद चौधरीको भनाइ छ ।



सांसद चौधरी महिला सशक्तीकरणसँगै आफ्नो निर्वाचन क्षेत्रका गरिब तथा विपन्न परिवारको आर्थिक उन्नतिका निम्ति विभिन्न कार्यक्रम लिएर बस्तीबस्तीमा गइरहेकी छन् । गत वर्ष पनि यसै समयमा चौधरीले पुस माघको कठ्याङ्ग्रिँदो जाडोबाट एक हजार गरिब, विपन्न नागरिकलाई बचाउन न्यानो कपडा वितरण गरेकी थिइन् ।

तराईमा शीतलहरले जनजीवन कष्टकर बनिरहेका बेला न्यानो कपडा वितरणका निम्ति सांसद चौधरीले पहल गरेर कार्यक्रम ल्याएकी हुन् ।
FACEBOOK COMMENTS