काठमाडौं । खगेन्द्र सुनार मन्त्री नबन्दै विवादमा तानिएका छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा श्रम तथा रोजगारमन्त्री बन्न लागेका सुनारमाथि महिलामाथि गैरजिम्मेवारपूर्ण व्यक्तिगत र टिप्पणी गरेको विषय सामाजिक सञ्जाल र मिडियामा भाइरल बनेको छ ।
सुनारमाथि स्वास्थ्यकर्मीमाथि हातपात, बहुविवाह, विद्युतीय कारोबार र अदालतको अवहेलनासम्बधी जाहेरी समेत परेको पाइएको छ । मन्त्री बन्नेको सूचीमा उनको नाम सार्बजनिक भएसँगै सुनारविरुद्ध सुर्खेत जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जी पनि सामाजिक सञ्जालमा भाइरल भएको छ ।
सुर्खेतको गुर्भाकोट नगरपालिका–८ स्थित मेहेलकुना अस्पतालका कार्यालय प्रमुख डा. सोजन सापकोटाको जाहेरीका आधारमा स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपातको मुद्दामा सुनारलाई प्रतिवादी बनाएका थिए ।
अदालतले २०८१ असार २१ गते सुनारविरुद्ध ७ दिने पक्राउ पुर्जी जारी गरेको थियो । दैलेख, नारायण नगरपालिका–२ भैसेखोर बस्ने ३१ वर्षीय सुनारलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय, दैलेखलाई निर्देशन दिएको थियो ।
अहिले सामाजिक सञ्जालमा विवादित व्यक्तिलाई मन्त्री बनाउन लागेको विरोध भइरहेको छ । साथै उनले एक अधिवक्ता बारे गरेको अभद्र टिप्पणी समेत अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

FACEBOOK COMMENTS