काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानकी प्रधानमन्त्री सानाए ताकाइचीबीच शिखर भेटवार्तापछि दुवै नेताले संयुक्त पत्रकार सम्मेलनमार्फत द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्ने घोषणा गरेका छन् ।
यस क्रममा प्रधानमन्त्री मोदीले ताकाइचीलाई आफ्नो ’बहिनी’ भन्दै स्वागत गरेका छन् । मोदीले ताकाइचीको यो भारतको पहिलो भ्रमण भएको उल्लेख गर्दै जापानकी पहिलो महिला प्रधानमन्त्रीको स्वागत गर्न पाउँदा खुशी लागेको बताए । उनले भारत र जापानबीच आर्थिक सुरक्षालाई सुदृढ बनाउन संयुक्त मार्गचित्र तयार भएको जानकारी दिए ।
उनका अनुसार सेमिकन्डक्टर, क्वान्टम प्रविधि, उन्नत सामग्री तथा आपूर्ति शृङ्खलालाई मजबुत बनाउने विषयमा दुवै देशबीच सहकार्य हुनेछ भने भारत–जापान बायोग्यास पहलअन्तर्गत भारतभर एक हजार बायोग्यास तथा जैविक मल उत्पादन केन्द्र स्थापना गरिने घोषणा गरिएको छ । यसबाट गोबरधन योजना, ग्रामीण अर्थतन्त्र र रोजगारी प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
दुवै देशले ब्याट्री, हरित हाइड्रोजन, आणविक ऊर्जा, रक्षा, लगानी, अनुसन्धान, नवप्रवर्तन तथा हिन्द–प्रशान्त क्षेत्रीय सहकार्य विस्तार गर्ने विषयमा पनि सहमति जनाएका छन्। मोदीले आगामी वर्ष भारत र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा हुने अवसरलाई विशेष रूपमा मनाइने बताए ।
जापानकी प्रधानमन्त्री ताकाइचीले भारत र जापान एसियाका दुई ठूला लोकतान्त्रिक शक्ति भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय कानुनको सम्मान, शान्ति र स्थिरताको पक्षमा दुवै देश मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले धम्की, दबाब वा बल प्रयोग गरेर परिस्थिति परिवर्तन गर्ने कुनै पनि प्रयासको संयुक्त रूपमा विरोध गरिने बताइन् ।

ताकाइचीले संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले आफूलाई ’बहिनी’ भनेर सम्बोधन गरेको उल्लेख गर्दै दुवै नेताले भाइबहिनीको सम्बन्धजस्तै आत्मीयताका साथ दुई देशबीचको सम्बन्धलाई अघि बढाउने सहमति गरेको बताइन् ।
उनले जापानको स्वतन्त्र तथा खुला हिन्द–प्रशान्त नीति र भारतको महासागर पहल एकअर्काका परिपूरक रहेको भन्दै समुद्री सुरक्षा सहकार्यलाई उच्च प्राथमिकता दिने निर्णय भएको जानकारी दिइन् । यसबाट हिन्द–प्रशान्त क्षेत्रमा शान्ति, स्थायित्व र सुरक्षित समुद्री आवागमन सुनिश्चित गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।
यसअघि भारत–जापान संयुक्त आर्थिक मञ्चलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आगामी १० वर्षभित्र भारतमा जापानको लगानी १० ट्रिलियन येनभन्दा बढी पुर्याउने लक्ष्य राख्नुपर्ने बताए । उनले अटोमोबाइल क्षेत्रमा प्राप्त सफलतालाई अब जहाज निर्माण, हवाई सेवा, यातायात व्यवस्थापन तथा अन्य औद्योगिक क्षेत्रमा समेत विस्तार गरिने बताए ।
मोदीले प्रतिभा आदानप्रदान, सीप विकास, प्राविधिक तालिम, अनुसन्धान, शिक्षा तथा नवप्रवर्तनका क्षेत्रमा पनि सहकार्य बढाइने जानकारी दिए । साथै संस्कृति, पर्यटन र सिर्जनात्मक अर्थतन्त्रमा समेत साझेदारी विस्तार गरिने उनको भनाइ थियो ।
ऊर्जा सुरक्षालाई पनि दुवै देशले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मोदीले तेल आपूर्ति संकटजस्ता चुनौतीको सामना गर्न नयाँ पहल सुरु गरिएको बताए । उनका अनुसार ब्याट्री, हरित हाइड्रोजन, आणविक ऊर्जा तथा स्वच्छ ऊर्जाको विकासमा सहकार्य बढाइनेछ ।
मोदीले आर्थिक सुरक्षालाई साझा सुरक्षा र ऊर्जा रूपान्तरणलाई साझा अवसरका रूपमा लिइएको उल्लेख गर्दै भारत–जापान नयाँ पुस्ताको गतिशीलता साझेदारी ढाँचा पनि शुभारम्भ गरिएको जानकारी दिए ।