काठमाडौं । पछिल्ला केही वर्षयता नेपालको पूँजीबजारमा सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) प्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ।
सेयर बजारमा हुने तीव्र उतारचढाव, प्रत्यक्ष सेयर लगानीको बढ्दो जोखिम र दीर्घकालीन सम्पत्ति निर्माणको चाहनाका कारण धेरै लगानीकर्ता अहिले एसआईपीलाई वैकल्पिक लगानीका रूपमा रोज्न थालेका छन्।
हाल नेपालमा ११ वटा मर्चेन्ट बैंक अन्तर्गत सञ्चालित क्यापिटल कम्पनीहरूले १४ वटा खुलामुखी (ओपन–एन्डेड)म्युचुअल फण्डमार्फत एसआईपी सेवा उपलब्ध गराइरहेका छन्।
खुलामुखी योजनाको विशेषता भनेको लगानीकर्ताले कुनै पनि कारोबार हुने दिन फण्डको नेट एसेट भ्यालु (न्याभ) का आधारमा इकाइ खरिद वा बिक्री गर्न सक्ने सुविधा हो। यसमा बन्दमुखी योजना जस्तो निश्चित परिपक्व अवधि वा लक–इन अवधि हुँदैन।
विशेषज्ञहरूका अनुसार एसआईपी छोटो अवधिमा ठूलो प्रतिफल खोज्ने लगानीकर्ता भन्दा १० देखि १५ वर्ष वा त्योभन्दा लामो अवधिको लक्ष्य राख्ने लगानीकर्ताका लागि बढी उपयुक्त माध्यम हो। नियमित रूपमा सानो–सानो रकम लगानी गर्दै जाँदा चक्रवृद्धि प्रतिफलको प्रभावले दीर्घकालमा सम्पत्ति निर्माण गर्न मद्दत पुग्ने विश्वास गरिन्छ।

यद्यपि यसबाट प्राप्त हुने प्रतिफल निश्चित भने हुँदैन।
मर्चेन्ट बैंकहरूले लगानीकर्ताबाट संकलन गरेको रकम सेयर, ऋणपत्र, मुद्रा बजारका उपकरण तथा अन्य वित्तीय सम्पत्तिमा विविधीकरण गर्दै लगानी गर्छन्। ती लगानीबाट प्राप्त आम्दानीका आधारमा फण्डको मूल्य बढ्ने वा लाभांश वितरण हुने भएकाले एसआईपीको प्रतिफल योजना व्यवस्थापकको लगानी व्यवस्थापन क्षमतासँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ।
यही कारण कुनै पनि एसआईपीमा लगानी गर्नु अघि केवल आकर्षक प्रचार सामग्री हेरेर निर्णय गर्नु पर्याप्त हुँदैन। सम्बन्धित फण्डको उद्देश्य, दीर्घकालीन वित्तीय प्रदर्शन, न्याभको अवस्था, बेंचमार्कसँगको तुलना, पोर्टफोलियोको गुणस्तर, फण्ड म्यानेजरको अनुभव, जोखिम व्यवस्थापन र विगतको प्रतिफल इतिहास जस्ता पक्षको विस्तृत अध्ययन आवश्यक हुने जानकारहरूको सुझाव छ।
१४ खुलामुखी योजनाको वित्तीय अवस्था कस्तो ?
चालु आर्थिक वर्षको जेठ मसान्तसम्म सार्वजनिक वित्तीय विवरण हेर्दा सञ्चालनमा रहेका १४ खुलामुखी योजनामध्ये ९ वटा फण्ड नाफामा छन् भने ५ वटा घाटामा देखिएका छन्।
सबैभन्दा बढी नाफा कमाउने योजनामा सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम रहेको छ। उक्त योजनाले जेठ मसान्तसम्म १० करोड १४ लाख रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको छ।
विपरीत अवस्थामा एनआईबीएल सहभागिता फण्ड सबैभन्दा बढी २६ करोड १० लाख रुपैयाँ घाटामा रहेको देखिन्छ।
यद्यपि कुनै फण्ड लेखा हिसाबमा घाटामा देखिँदैमा त्यसमा एसआईपी गरेका लगानीकर्ताले प्रतिफल पाउँदैनन् भन्ने निष्कर्ष निकाल्न मिल्दैन। म्युचुअल फण्डले खरिद गरेका सेयर, ऋणपत्र वा अन्य सम्पत्तिको बजार मूल्य भविष्यमा बढेमा न्याभ वृद्धि हुन सक्छ।
त्यस अवस्थामा लगानीकर्ताले आफ्नो इकाइ बिक्री गर्दा पूँजीगत लाभ प्राप्त गर्न सक्छन्।
त्यसैगरी लाभांश वितरणलाई मात्रै प्रतिफलको आधार मान्न पनि उपयुक्त हुँदैन। किनभने लाभांश वितरण भएपछि सोही अनुपातमा फण्डको न्याभ समायोजन हुने गर्दछ। त्यसैले वास्तविक प्रतिफल मूल्यांकन गर्दा प्राप्त लाभांशसँगै न्याभमा भएको परिवर्तनलाई पनि सँगसँगै विश्लेषण गर्नुपर्ने विज्ञहरूको भनाइ छ।
लाभांश इतिहासले के देखाउँछ ?
एसआईपीको मूल उद्देश्य हरेक वर्ष लाभांश प्राप्त गर्नुभन्दा दीर्घकालीन रूपमा सम्पत्ति वृद्धि गर्नु हो। तर पछिल्ला वर्षहरूमा धेरै लगानीकर्ताले आफ्नो लगानी सुरक्षित रहोस् भन्ने चाहनासँगै नियमित लाभांशको अपेक्षा पनि गर्न थालेका छन्।
विशेषज्ञहरूका अनुसार प्राप्त लाभांश पुनः सोही फण्डमा पुनर्लगानी गर्न सके चक्रवृद्धि प्रतिफल अझ प्रभावकारी बन्न सक्छ। बजारमा उतारचढाव आइरहे पनि नियमित लाभांशले लगानीकर्तालाई प्रतिफल प्राप्त भएको अनुभूति गराउँछ।
तर लाभांशलाई अतिरिक्त वा निःशुल्क आम्दानीका रूपमा बुझ्न भने मिल्दैन। लाभांश वितरणपछि सो बराबर रकम फण्डको न्याभबाट घट्ने भएकाले दीर्घकालीन सम्पत्ति वृद्धि चाहने लगानीकर्ताका लागि लाभांश निकाल्नुभन्दा पुनः लगानी गर्ने रणनीति अझ प्रभावकारी मानिन्छ।
हाल सञ्चालनमा रहेका १४ खुलामुखी योजनामध्ये करिब आधा योजना नयाँ भएकाले तीमध्ये धेरैले अहिलेसम्म एक आर्थिक वर्ष पनि पूरा गरेका छैनन्। त्यसैले ती योजनाले लाभांश वितरण नगरेका भए पनि यसैलाई कमजोरीका रूपमा हेर्न नमिल्ने जानकारहरू बताउँछन्। आर्थिक वर्ष समाप्तिपछि तीमध्ये अधिकांश योजनाले प्रतिफल वितरण गर्न सक्ने सम्भावना रहेको उनीहरूको अनुमान छ।
अहिलेसम्मको लाभांश इतिहास हेर्दा एनआईबीएल सहभागिता फण्ड सबैभन्दा आकर्षक देखिएको छ। उक्त फण्डले आफ्नो सञ्चालन अवधिमा लगानीकर्तालाई अधिकतम ५० प्रतिशतसम्म लाभांश वितरण गरिसकेको छ।
यता करिब आठ वर्षअघि स्थापना भएको सानिमा फ्लेक्सी क्याप फण्ड ले भने हालसम्म कुनै लाभांश वितरण गरेको छैन। तर लाभांश वितरण नगरे पनि फण्डको समग्र वित्तीय अवस्था भने सन्तोषजनक मानिएको छ।
जेठ मसान्तसम्म उक्त फण्डको न्याभ १० रुपैयाँ ४० पैसा रहेको छ।
एसआईपी दीर्घकालीन लगानीकर्ताका लागि उपयुक्त माध्यम भए पनि कुनै योजना छनोट गर्दा केवल विगतको लाभांश वा हालको नाफा–घाटालाई मात्रै आधार बनाउन पर्याप्त हुँदैन। फण्डको सम्पूर्ण वित्तीय अवस्था, न्याभको प्रवृत्ति, पोर्टफोलियोको गुणस्तर, जोखिम व्यवस्थापन, व्यवस्थापकको क्षमता र दीर्घकालीन प्रतिफल इतिहासलाई समग्र रूपमा विश्लेषण गरेर मात्रै लगानीको निर्णय गर्नु बुद्धिमानी हुने देखिन्छ।
बजारको उतारचढावबीच नियमित लगानी, धैर्यता र दीर्घकालीन दृष्टिकोण अपनाउन सके एसआईपी भविष्यमा सम्पत्ति निर्माणको प्रभावकारी माध्यम बन्न सक्ने देखिएको छ।