काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले युवा वर्गको चाहनाअनुसार नेतृत्व पाएको उल्लेख गर्र्दै अब परिणाम देखिने गरी काम गर्नुपर्ने बताएका छन् ।
अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा आयोजित संसद्सम्म युवा आवाज कार्यक्रममा उहाँले नेपालले युवा दिवसको उत्सव मनाउन मात्र होइन अनुभव नै गर्न पाएको बताए ।
सभापति लामिछाने भने, “विश्वका धेरै देशहरूले देखेको सपना र सोचेको युवा नेतृत्वको विषय नेपालले व्यवहारमै हासिल गरेको छ । यस अघि मुलुकको राजनीतिमा युवा नेतृत्व भएन भनेर गुनासो गरिएको थियो, तर अहिले मुलुक हाक्ने नेतृत्व नै युवा भएकाले जनअपेक्षाअनुसार काम गरेर देखाउनुपर्ने छ । यसमा सबैको साथ र सहयोग आवश्यक छ ।”
मुलुकको राजनीतिमा हाल नेपालले विश्वकै वीरलै अवसर पाएको उल्लेख गर्दै उनले अब युवाका सपना साकार हुने गरी काम गर्नुपर्नेमा जोड दिए । युवामा तत्काल परिणाम खोज्ने बानी देखिएको बताउँदै उनले युवा नेतृत्व सफल भएन भने भविष्यका लागि समेत आरोप लाग्नेतर्फ सबै सचेत भएर काम गर्नुपर्ने बताए ।