काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको बताएका छन् ।
परराष्ट्र मन्त्रालयको समर फेलोसिप तथा इन्टर्नसिप कार्यक्रम–२०२६ को ‘रिसर्च डिसिमिनेसन एन्ड क्लोजिङ’ कार्यक्रममा परराष्ट्रमन्त्री खनालले नेपालको परराष्ट्र नीति सुदृढ बनाउन अनुसन्धान, प्रमाणमा आधारित विश्लेषण र सूचित सार्वजनिक बहसको महत्वपूर्ण भूमिका रहेको बताए । उनले युवा अनुसन्धानकर्तालाई बदलिँदो अन्तरराष्ट्रिय घटनाक्रमको अध्ययन गर्दै नेपालको कूटनीतिक अभ्यास तथा नीति निर्माणमा योगदान गर्न आग्रह गरे ।
राजनीतिमा आउनुअघि आफूले विद्यालय तहको सार्वजनिक शिक्षाको क्षेत्रमा समेत काम गरेको मन्त्री खनालले बताए । उनले नेपाली युवाले ज्ञान उत्पादन गर्ने र त्यसबाट नीति निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा अन्तरराष्ट्रिय युवा दिवसको शुभकामना दिँदै उनले सरकार युवासँग सहकार्य गरेर अघि बढिरहेको बताए । “म परराष्ट्र मन्त्रालयमा आएपछि युवाहरूसँग सहकार्य गर्नका लागि यो कार्यक्रम ल्याइएको हो,” मन्त्री खनालले भने । समर फेलोसिप तथा इन्टर्नसिप कार्यक्रमले जलवायु परिवर्तन, श्रम आप्रवासन, कृत्रिम बौद्धिकता (एआई), प्रविधिलगायत विभिन्न क्षेत्रलाई समेटेको उनले जानकारी दिए ।
सरकारमा सहभागी भएको चार साताभित्रै कार्यक्रम अघि बढाइएको उल्लेख गर्दै मन्त्री खनालले आठ सातासम्म सञ्चालन भएको कार्यक्रम फलदायी भएको बताए । उनका अनुसार कार्यक्रममार्फत देशभित्र र विदेशमा रहेका युवासँग परराष्ट्र मन्त्रालय तथा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले प्रत्यक्ष रूपमा सहकार्य गर्न सफल भएको छ ।