काठमाडौं । ‘नेपाली ब्रो’ भनिने कुमार थापा र उनकी प्रेमिका प्रतीक्षा आचार्यलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले कर्तव्य ज्यान मुद्दामा दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
सोही मुद्दामा मतियारका रुपमा प्रतिवादी बनाइएका विक्रम थापा मगर र सुजन थापालाई चाहिँ एक लाख रुपैयाँ धरौटी माग्ने आदेश भएको छ ।
नेपाली सेनाका सुवेदारसमेत रहेकी थापा पत्नी ईश्वरी भुजेलको २२ जेठ राति साढे ९ बजे चक्कु प्रहार गरी हत्या भएको थियो । लगत्तै अनुसन्धानका लागि थापा पक्राउ परेका थिए ।
प्रहरीले उनीसँग प्रेम सम्बन्धमा रहेकी आचार्यसहित दुई जनालाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । एक महिना लामो अनुसन्धानपछि प्रहरीले परस्त्रीसँगको सम्बन्ध नै हत्याको कारण भएको उल्लेख गर्दै अनुसन्धान प्रतिवेदन बुझाएको थियो । त्यसको आधारमा अदालतमा दायर मुद्दाको प्रारम्भिक सुनुवाइमा दुई जनालाई थुनामा पठाउने आदेश भएको हो ।

प्रहरी अनुसन्धानका आधारमा दायर अभियोग पत्रमा भनिएको थियो, ’प्रतिक्षा आचार्यसँगको प्रेम सम्बन्धलाई लिएर श्रीमतीसँग पटकपटक वादविवाद हुने र कुटपिट गरी शारीरिक तथा मानसिक यातना दिने गरेको देखिएको छ ।’