काठमाडौं । भारतका तीव्र गतिका बलर मोहम्मद सिराजलाई आक्रामक सेलिब्रेसनका कारण म्याच फिसको १५ प्रतिशत जरिवाना गरिएको छ ।
इंग्ल्यान्डविरुद्ध लर्ड्समा जारी तेस्रो टेस्टको चौथो दिन आइतबार सिराजले बेन डकेटलाई आउट गरेपछि अत्यधिक आक्रामक रूपमा उत्सव मनाएका थिए। उनी डकेट नजिकै पुगेर काँधमा ठोक्किएका थिए, जसलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आचारसंहिताको लेभल–१ उल्लङ्घन मानेको हो।
मैदानमा रहेका अम्पायरहरू पल रेफेल, शरफुद-उद-दौलाह इब्ने शाहिद, तेस्रो अम्पायर अहसान रजा र चौथो अम्पायर ग्राहम लोयडले सिराजमाथि आरोप लगाएका थिए। सिराजले आफूमाथिको गल्ती स्वीकार गरेका छन्।
२४ महिनाको अवधिमा यो सिराजको दोस्रो डिमेरिट पोइन्ट हो। यसअघि उनले २०२४ डिसेम्बरमा अष्ट्रेलियाविरुद्धको एडिलेड टेस्टका क्रममा एक डिमेरिट पोइन्ट पाएका थिए। अहिले उनका जम्मा डिमेरिट पोइन्ट दुई पुगेका छन्।
आईसीसी आचारसंहिता अनुसार, कुनै खेलाडीले २४ महिनाभित्र चार वा सोभन्दा बढी डिमेरिट पोइन्ट पाएमा ती निलम्बन पोइन्टमा परिणत हुन्छन् र उनलाई एक टेस्ट वा दुई एकदिवसीय वा दुई टी–२० अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाइन्छ।

आचारसंहिताका लेभल–१ उल्लङ्घनमा १ देखि २ डिमेरिट पोइन्टसम्म र म्याच फिसको शून्यदेखि ५० प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था छ। लेभल–३ उल्लङ्घनमा भने ६ टेस्ट वा १२ एकदिवसीय खेलसम्म प्रतिबन्ध लगाउन सकिन्छ।

आईसीसीले खेल मैदानमा खेलाडीहरूको व्यवहारमा मर्यादा कायम राख्न नियमित निगरानी गर्दै आएको छ।