काठमाडौं । चलचित्र ‘गौँथली’को टिजर सार्वजनिक भएको छ । मुख्य पात्रमार्फत चलचित्रको कथा सार बताउँदै टिजर सार्वजनिक भएको हो ।
आमाले छोरीको घर बसाउन गरेको प्रयास र छोरीले घरमा भोग्नु परेको व्यवाहारलाई टिजरले देखाएको छ । श्रीमानको फरक व्यवहारबाट आजित भएकी श्रीमतीले घरमा सहनु परेको कहर र छोरीको समुन्नत परिवार चाहने आमाको प्रयास टिजरमा समेटिएको छ ।
पढ्ने रहर हुँदाहुँदै भएको विवाह, सोझो र इमान्दार भनेर सोचेको श्रीमान् नै खराब परेपछि महसुस भएको विश्वासघात टिजरमा देख्न सकिन्छ ।
छोरीका लागि आमाको काख कति न्यानो हुन्छ भने बुहारीका लागि सासु कति कठोर हुन्छन् भन्ने देखाउने टिजरले श्रीमान् नै सोचेभन्दा ठिक उल्टो भइदिएपछि श्रीमतीले कति दुःख झेल्नुपर्छ भन्ने सत्यलाई टिजरले उजागर गरेको छ ।
श्रीमानको भूमिकामा अरुण क्षेत्री छन् भने श्रीमतीको भूमिकामा सिम्रन खड्का छिन् ।

चलचित्र ‘गौँथली’ साउन १ गतेबाट प्रदर्शनमा आउँदैछ । डा. कपिल रिजालले निर्देशन गरेको चलचित्र ‘गौँथली’मा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन् ।

यो चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।

डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजा छिन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् । चलचित्रलाई हरि हुमागाईंले खिचेका हुन् भने मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।