काठमाडौं । हिमालय क्षेत्रको आध्यात्मिक परम्परा, मिथक तथा प्राकृतिक सौन्दर्यबाट प्रेरित एनिमेटेड फ्यान्टेसी–एडभेन्चर चलचित्र ‘लस्ट इन मण्डला’ नेपालबाट विश्व बजारमा पुग्ने भएको छ ।
विश्वव्यापी दर्शकलाई लक्षित गरी निर्माण भइरहेको यो चलचित्रलाई नेपालको पहिलो एनिमेटेड फिचर चलचित्रका रूपमा प्रस्तुत गरिएको छ ।
नेपालको मौलिक सांस्कृतिक परिवेशमा आधारित चलचित्रले मित्रता, करुणा, साहस र आत्मखोजीजस्ता विश्वव्यापी विषयलाई समेटेको छ ।
नेपाली कथा, मिथक तथा आध्यात्मिक परम्परालाई आधुनिक एनिमेसन र अन्तर्राष्ट्रिय चलचित्र निर्माणको अनुभवसँग जोड्दै चलचित्र तयार भइरहेको निर्माण पक्षले जनाएको छ ।
चलचित्रको कथा १२ वर्षीया एक बालिका र उनका साथीहरू रहस्यमय अर्को आयाममा पुगेपछि सुरु हुन्छ । उक्त अपरिचित संसारमा उनीहरूले भयावह अँध्यारो शक्तिको सामना गर्नुपर्छ । विभिन्न चुनौती पार गर्ने क्रममा उनीहरूले प्रेम, मित्रता र करुणाको वास्तविक शक्ति पत्ता लगाउँछन् र आफ्नो संसारलाई बचाउने साहसिक यात्रामा अघि बढ्छन् ।
नेपालको समृद्ध सांस्कृतिक तथा आध्यात्मिक परम्पराबाट प्रेरित चलचित्रले फरक उमेर समूह तथा विभिन्न भूगोलका दर्शकसँग भावनात्मक रूपमा जोडिन सक्ने काल्पनिक संसार प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
नेपालका अग्रणी चलचित्र वितरकमध्ये एक एप्पल इन्टरटेनमेन्ट प्रा.लि. चलचित्रको नेपाल तथा छनोट गरिएका केही अन्तर्राष्ट्रिय बजारका लागि आधिकारिक वितरण साझेदार बनेको छ । कम्पनीको वितरण सञ्जालमार्फत चलचित्र नेपालसहित तोकिएका अन्तर्राष्ट्रिय बजारका सिनेमा हलमा प्रदर्शन गरिनेछ ।
चलचित्रले नेपालको एनिमेसन तथा चलचित्र उद्योगमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ । नेपाली कथा, मिथक र सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय दर्शक लक्षित फिचर चलचित्रका रूपमा प्रस्तुत गर्न सकिने सम्भावनालाई यस परियोजनाले थप उजागर गरेको छ ।
चलचित्रमा नेपाल र हलिउडको सिर्जनात्मक तथा प्राविधिक अनुभवलाई एकै ठाउँमा ल्याइएको छ । नेपाली सांस्कृतिक परिवेशमा आधारित कथालाई अन्तर्राष्ट्रिय चलचित्र तथा भिजुअल इफेक्ट्स निर्माणको विशेषज्ञतासँग संयोजन गरिएको निर्माण टोलीले जनाएको छ ।