काठमाडौं । प्रभु बैंकले पछिल्लो समय केही सञ्चारमाध्यममा बैंक, सञ्चालक र पदाधिकारीहरूका विरुद्ध प्रकाशित समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै ती समाचारहरूलाई ‘भ्रामक, एकपक्षीय र आधारहीन’ भन्दै पूर्ण रूपमा खण्डन गरेको छ । बैंकका अनुसार, संस्थागत प्रतिष्ठा र पदाधिकारीहरूको व्यक्तिगत मान–मर्यादामा आँच पुर्याउने उद्देश्यले तथ्यहीन विवरणहरू सार्वजनिक गरिएका छन् ।
कर्मचारी सरुवा, कार्य जिम्मेवारी बाँडफाँट, कर्जा असुली प्रक्रिया र धितो लिलामी जस्ता बैंकले नियमित प्रशासनिक र व्यावसायिक प्रक्रियालाई गलत ढंगले व्याख्या गरिएको दाबी गरेको छ ।
बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बैंकभित्र हुने कर्मचारी सरुवा, आन्तरिक व्यवस्थापन र कर्जा असुलीका नियमित प्रक्रियाहरूलाई कुनै आधार र प्रमाणविना तथ्यपरक पत्रकारिताको मर्मविपरीत प्रसारण गरिनु दु:खद छ ।’ बैंकले यस्ता कार्यहरू बैंकिङ व्यवसायका अनिवार्य र नियमसम्मत अभ्यास भएको स्पष्ट पारेको छ ।
विगतका केही कर्जा फाइलहरूका सम्बन्धमा भइरहेका अनुसन्धान र अदालतमा विचाराधीन मुद्दाहरूका बारेमा बैंकले स्पष्ट पारेको छ । बैंकका अनुसार ती विषयहरूमा नियामक निकाय (नेपाल राष्ट्र बैंक) को निर्देशन र प्रचलित कानुनको पूर्ण पालना भइरहेको छ ।
आन्तरिक नियन्त्रण प्रणालीलाई थप सुदृढ बनाउँदै भविष्यमा कुनै पनि कमजोरी हुन नदिन बैंक प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । ‘बैंकको सञ्चालक समिति र व्यवस्थापनबाट हुने सम्पूर्ण निर्णयहरू नेपाल राष्ट्र बैंकको निर्देशन र कानुनी मापदण्ड बमोजिम नै हुँदै आएका छन् र भविष्यमा पनि सोही अनुरूप हुनेछन्,’ बैंकले भनेको छ ।
प्रभु बैंकले आफ्ना निक्षेपकर्ता, ऋणी, सेयरधनी तथा समस्त सरोकारवालाहरूलाई बैंकको आधिकारिक सूचना वा विश्वसनीय स्रोतबाट प्राप्त जानकारीलाई मात्र आधार मान्न अनुरोध गरेको छ । साथै, सञ्चारमाध्यमहरूलाई पनि कुनै पनि समाचार प्रकाशन गर्नुअघि त्यसको सत्यतथ्य जाँच गर्न र मर्यादित पत्रकारिताको अभ्यास गर्न आग्रह गरिएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले हस्ताक्षर गरेको विज्ञप्तिमा बैंक आफ्नो दीर्घकालीन कार्ययोजनासहित ग्राहकको हित प्रवद्र्धन गर्न सदैव तत्पर रहेको उल्लेख गरिएको छ ।