काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा हजारौँ माइल टाढा बेलारुस पुगेका आफ्ना श्रीमान्को पसिनाको कमाइ घरसम्म भित्र्याउन सुशीला कुमालले विगत केही महिनादेखि प्रविधिको सहारा लिएकी छन् ।
यसका लागि उनको सहारा बन्यो नबिल बैंकको ‘एन–रेमिट’ । सुशीलाको मात्रै होइन, यस्तो सहारा १८८ देशमा भएका नेपालीहरूको यहाँका घरपरिवारसमक्ष जोडेर क्षणभरमै रेमिट्यान्स पठाउन ‘एन–रेमिट’ सफल भएको छ ।
यो सेवाले गर्दा संसारको जुनसुकै कुनाबाट नेपालमा पैसा पठाउन सम्भव भएको छ । यसर्थ, एन–रेमिटले भौगोलिक दुरीलाई मेटाउँदै डिजिटल रेमिट्यान्सको क्षेत्रमा एउटा सफल उदाहरण पेस गरेको छ ।
गत भदौ २३ गते बेलारुस गएका उनका श्रीमान्ले विगत ९ महिनादेखि नबिल बैंकको ‘एन–रेमिट’मार्फत नियमित रूपमा घरमा पैसा पठाइरहेका छन् । कुमालले सुरुमा ‘हाम्रो पात्रो’ एपको माध्यमबाट एन–रेमिट प्रयोगबारे थाहा पाएकी थिइन् । नबिल बैंक र हाम्रो पात्रोबीचको सहकार्यमा यो सेवा सुरु भएको थियो । जुन नेपालकै पहिलो ‘ओपन बैंकिङ’ रेमिटेन्स एकीकरण हो ।
यसको डिजिटल कारोबारले उनीहरूको जीवनमा विदेशबाट रेमिट्यान्स प्राप्त गर्न सहजता ल्याएको छ । उनका अनुसार, एन–रेमिटबाट पैसा प्राप्त गर्न निकै सहज र छिटो छ । “एन–रेमिटमार्फत काम छिटै भएको छ,” उनले आफ्नो अनुभव सुनाइन् ।
एन–रेमिटको सबैभन्दा ठूलो विशेषता भनेको यसको सरलता हो । नबिल बैंक र हाम्रो पात्रोबीचको सहकार्यमा सुरु भएको यो सेवा नेपालकै पहिलो ‘ओपन बैंकिङ’ रेमिटेन्स एकीकरण हो । विदेशमा रहेका नेपालीले आफ्नो अन्तर्राष्ट्रिय डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालका जुनसुकै बैंक खातामा सहजै पैसा पठाउन सक्छन् ।
अन्य डिजिटल सेवाहरूमा जस्तो यसमा प्रयोगकर्ताले छुट्टै खाता खोल्ने वा लग–इन र साइन–आउट गर्ने झन्झट बेहोर्नु पर्दैन । सामान्यतया, रेमिट्यान्स आउन केही घण्टा वा दिन लाग्ने भए तापनि एन–रेमिटमार्फत तुरुन्तै पैसा प्राप्त गर्न सकिन्छ । रसिदमा जति रकम लेखिएको हुन्छ, ग्राहकको खातामा त्यति नै रकम जम्मा हुन्छ । बैंकका अनुसार, यस सेवामा कुनै अतिरिक्त वा लुकेको सेवा शुल्क लाग्दैन ।
मोबाइल बैंकिङ एपमार्फत सञ्चालन हुने यो सेवाले विदेशमा रहेका नेपालीहरूलाई छिटो र पारदर्शी रूपमा पैसा पठाउन मद्दत गरिरहेको छ । यसरी प्रविधिको उच्चतम् प्रयोग र एन–रेमिट जस्ता सरल सेवामार्फत नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नयाँ उचाइ थपेको छ ।
नेपालको अग्रणी वित्तीय संस्था नबिल बैंकले वार्षिकोत्सवसँगै ‘बियोन्ड बैंकिङ’ (बैंकिङभन्दा माथि)को अवधारणा सार्वजनिक गरेको छ । जसलाई बैंकले मुनाफा मात्र नभई सामाजिक उत्तरदायित्व, डिजिटल रुपान्तरण र नागरिकका सपना साकार पार्ने कार्यमा केन्द्रित हुने प्रतिबद्धता जनाएको छ ।
यसैक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले ‘बियोन्ड बैंकिङ’ अवधारणाले मानिसहरूको घर बनाउने, व्यवसाय गर्ने र परिवारलाई जोड्ने सपनाहरूमा बैंकलाई एक भरपर्दो साझेदारको रूपमा स्थापित गर्ने बताए ।
सन् १९८४ मा नेपालको पहिलो प्रविधिमैत्री निजी क्षेत्रको बैंकका रूपमा सुरु भएको नबिल आज लाखौँ ग्राहकको विश्वास जित्न सफल भएको उनको दाबी छ । “४२ वर्षको यात्रामा नबिल बैंकले नाफा–घाटाभन्दा माथि उठेर देश निर्माण र नागरिकको सेवालाई नै आफ्नो मुख्य उद्देश्य बनाएको छ । उनले बैंकले वित्तीय सेवा प्रदान गर्ने संस्थाभन्दा पनि ग्राहकको सपना र सफलताको यात्रामा सहयात्री बन्ने लक्ष्य राखेको छ,” उनले भने, “रेमिटेन्सले अर्थतन्त्रमा ठूलो योगदान दिँदै आएको छ । त्यसैले विदेशमा रहेका नेपाली समुदायलाई छिटो र सहज सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले एनरेमिट सेवा ल्याएको हो ।”
सीईओ ज्ञवालीका अनुसार, ग्राहकको बदलिँदो आवश्यकता र दिगो विकासलाई ध्यानमा राख्दै नबिलले नेपालको सबैभन्दा विश्वासिलो, भरपर्दो र भविष्यका लागि तयार बैंक बन्ने लक्ष्य लिएको छ । बैंकले आगामी दिनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग बढाउने र डिजिटल सेवामार्फत आफ्नो पहुँच अझ विस्तार गर्ने लक्ष्य राखेको छ । यसै सन्दर्भमा बैंकले विदेशमा रहेका नेपालीहरूका लागि अत्याधुनिक र झन्झटमुक्त रेमिटेन्स सेवा एनरेमिटलाई विशेष प्राथमिकताका साथ अगाडि बढाएको बताएको छ ।
समग्रमा नेपाल भित्रिने रेमिट्यान्सको आकार बर्सेनि बढ्दै गएको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा रेमिट्यान्सले योगदान नपुर्याए पनि आमसर्वसाधारणको जनजीवन सहज बनाउन अहम भूमिका खेलेको छ । त्यसो त, चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको जेठ मसान्तसम्मको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनअनुसार गत जेठ मसान्तसम्म विप्रेषण आप्रवाह ३८.२ प्रतिशतले वृद्धि भई २१ खर्ब २० अर्ब ८० करोड पुगेको छ । गत जेठमा मात्र विप्रेषण आप्रवाह दुई खर्ब तीन अर्ब ८९ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब ७६ अर्ब ३२ करोड थियो । यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.६ प्रतिशतले वृद्धि भई १४ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १२.८ प्रतिशतले बढेको थियो ।
हालसम्मको कुल रेमिट्यान्स जीडीपीको अनुपातमा करिब ३४.७२ प्रतिशत हुन्छ । यो राष्ट्रिय तथ्यांक कार्यालयको पछिल्लो जीडीपीको आकार ६१ खर्ब ७ अर्ब २२ करोड हाराहारीको तुलनामा हो ।