काठमाडौं । अटोमोबाइल क्षेत्रमा स्थापित नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल (नाडा) र नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएशन (नाइमा) आपसमा अन्तरनिर्भर संस्था भएको बताइएको छ ।
नाडा र नाइमाले आज संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरू प्रतिस्पर्धी नभइ अन्तरनिर्भर संस्था भएको स्पष्ट गरेको हो । ‘हालै नाइमाको स्थापनासँग सम्बन्धित छलफल तथा समाचारहरूबाट नाडाको भूमिकालाई लिएर केही भ्रमहरू उत्पन्न भएका छन् । हामी स्पष्ट पार्न चाहन्छौँ कि नाडा र नाइमा दुबै संस्थाको स्वतन्त्र सह–अस्तित्वले नेपालमा अटोमोबाइल उद्योगलाई सशक्त बनाउनेछ भन्ने कुरामा दुबै संस्थाले विश्वास गर्छन्,’ विज्ञप्तिमा भनिएको छ ।
यस्तै, नाडा र नाइमामा रहेका कतिपय सदस्य कम्पनीहरू दुईवटै संघमा रहन सक्ने पनि उनीहरूले स्पष्ट गरेका छन् । ‘नाडाले नेपालको अटोमोबाइल नीतिहरू निर्माण गर्न तथा उद्योगसँग सम्बन्धित चुनौतीहरू समाधान गर्न महत्वपूर्ण भूमिका खेलेको छ । मोबिलिटी सशक्तीकरणको वकालतका लागि नाइमा गठन गरिएको हो, जसमा नेपालका अटोमोबाइल आयातकर्ता र निर्माता प्रतिनिधित्व गर्छन्,’ नाडाका अध्यक्ष करण चौधरी र नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा स्पष्ट भनिएको छ, ‘दुवै संस्था अटोमोबाइल व्यवसायमा प्रत्यक्ष संलग्न भएकाले केही सदस्य कम्पनीहरू दुबै संघको भाग बन्ने छनोट गर्न सक्छन् । तथापि, प्रत्येक संघले आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहँदै स्वतन्त्र रूपमा आफ्नो प्रयासहरू जारी राख्ने छ ।’
नेपालको अटोमोबाइल क्षेत्र दिगोपन, नवप्रवर्तन र नीतिगत स्थिरतातर्फ अग्रसर हुँदै गर्दा नाडा र नाइमा दुबै संस्थाहरू व्यवसायीहरूको हक र हितको संरक्षण, उद्योगमैत्री नीति निर्माणमा सहकार्य तथा समग्र क्षेत्रको प्रगतिमा पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । यद्यपि, नाइमाले आगामी वैशाख ४ गते आफ्नो स्थापनाको औपचारिक घोषणा गर्ने पनि सोही विज्ञप्तिमा उल्लेख छ ।
घोषणाका क्रममा संस्थाले आफ्नो स्पष्ट दृष्टिकोण, प्रमुख कार्यक्षेत्रहरू, मध्य तथा दीर्घकालीन योजना तथा मोबिलिटी सशक्तीकरणका लागि गर्न लागेको हस्तक्षेपलगायत कार्यक्रमहरू सार्वजनिक गर्ने बताइएको छ ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल, अटोमोबाइल उद्योगलाई समर्थन गर्ने र राष्ट्र विकासमा योगदान पुर्याउने दृष्टिकोणले स्थापना गरिएको संस्था हो । नडाले लामो समयदेखि नेपालका अटोमोबाइल व्यवसायीहरूलाई समेट्ने साझा संस्था भएर काम गर्दै आएको छ । नेपालको अटोमोबाइल क्षेत्रको समग्र प्रवर्द्धन, नीति निर्माणमा सहकार्य, तथा व्यापार तथा व्यवसायलाई सहज बनाउने काममा सधैं सक्रिय रहँदै आएको छ भने नेपालको अटोमोबाइल नीतिहरू निर्माण गर्न तथा उद्योगसँग सम्बन्धित चुनौतीहरू समाधान गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
त्यस्तै, नयाँ गठन भएको नाइमा मोबिलिटी सशक्तीकरणको वकालतका लागि गठन गरिएको संस्था हो । यसले मोबिलिटीमार्फत विकास सशक्त बनाउने, रणनीतिक नीतिगत वकालतद्वारा नेपालको अटोमोटिभ क्षेत्रलाई सबल बनाउनेलगायत लक्ष्य राखेको छ । जसले दिगो तथा सुरक्षित मोबिलिटीलाई प्राथमिकता दिएको छ । यसैगरी, यसले वातावरणमैत्री अभ्यास, उपभोक्ता शिक्षाको प्रवर्द्धन, सडक सुरक्षा तथा पूर्वाधार सुधारको आवश्यकतालाई सम्बोधन गर्दै सरकारसँग मिलेर काम गर्ने लक्ष्य पनि राखेको छ ।
FACEBOOK COMMENTS