काठमाडौं । यति बेला नाडा अटो शोको बारेका हट केक बनिरहेको छ ‘फ्लाइङ् ट्याक्सी’ अर्थात् उड्ने कार ।
कल्पना मात्र गर्न सकिने फ्लाइङ् ट्याक्सी अब नाडा अटो शोमा प्रत्यक्ष हेर्न पाइएको छ । चाङ्गान अटोमोबाइलले निर्माण गरेको यो फ्लाइङ ट्याक्सी नाडा अटो शो, २०८२ मा प्रदर्शन गरिएको छ ।
नाडा अटो शोका लागि एमएडब्ल्यू वृद्धि अटोकर्पले ल्याएको यो ईभीटोल कार आज प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गरे । यो कार उड्नेवाला भए पनि तत्काल उडाउन भने नमिल्ने भएको छ ।
यो कार अटो शोमा प्रदर्शनीका लागि मात्र ल्याइएको र उडाउने अनुमति नभएको नाडाले जानकारी दिएको छ । नेपालमा यस्ता प्रविधिको उडानसम्बन्धी नीतिनियम अहिलेसम्म तयार नभएकाले ईभीटोललाई केवल ‘शोकेश’ मात्रै गरिने नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले जानकारी दिए ।
‘नेपाली नागरिकहरूलाई नयाँ प्रविधि नजिकबाट देखाउने नाडाको यो महत्त्वपूर्ण पहल हो । उडाउन नपाएकोमा हामी पनि दु:खी छौँ, तर देशको कानुन नमानेर पनि भएन,’ महासचिव उप्रेतीले भने, ‘हाम्रा दाजुभाइ दिदीबहिनीहरूले नजिकबाट हेर्न पाउनु, बुझ्न पाउनु र सम्भावनाहरूको कल्पना गर्ने वातावरण र बहस सृजना गर्नु नै अहिलेका लागि मुख्य उद्देश्य हो ।’
हेर्नुहोस् तस्बिरहरू–
FACEBOOK COMMENTS