काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले रसुवामा आएको बाढीका कारण मुलुकको अटोमोबाइल आयात प्रणालीमा गम्भीर असर परेको बताएको छ ।
नाडाले आज मंगलबार विज्ञप्ति जारी गरी मुलुकको प्रमुख व्यापारिक केरुङ र रसुवागढी नाका बाढीबाट प्रभावित भएको र सो नाकामार्फत भइरहेको अटोमोबाइल आयात प्रणालीमा असर परेको बताएको हो ।
‘हालै रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिले केबल मानवीय जनजीवन मात्र नभई मुलुकको प्रमुख व्यापारिक नाका केरुङ र रसुवागढीमार्फत हुने अटोमोबाइल आयात प्रणालीमा गहिरो असर पुर्याएको छ,’ नाडाका अध्यक्ष करण चौधरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भन्सार परिसरमा रहेका निर्माणाधीन सुख्खा बन्दरगाह, पार्किङ्गमा रहेका कन्टेनरहरू समेत बगाएको यस कठिन घडीमा नाडाले सम्पूर्ण पीडितहरूप्रति गहिरो समवेदना प्रकट गरेको छ । आफ्नो घर, व्यवसाय र जीवनयापन गुमाउनु परेको पीडा अवर्णनीय रहेको भन्दै नाडाले पीडितहरूप्रति गहिरो सहानुभूतिसमेत प्रकट गरेको छ ।
‘नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल, हरेक कठिन घडीहरूमा अटोमोबाइल क्षेत्रका सम्पूर्ण सदस्यहरूको सधैं साथमा रहदै आएको छ । पीडितहरूको हिम्मत, धैर्यता र पुन:स्थापनाका प्रयासमा हामी ऐक्यबद्धता जनाउँछौं । यदि यस विषम परिस्थितिमा नाडाबाट कुनै सहयोग सम्भव छ भने जानकारी गराउनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौँ । यो सङ्कटको घडीमा हामी सबै मिलेर सहयोग र करुणाका साथ अघि बढन अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
यो पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS