काठमाडौं । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वको प्रतिनिधि मण्डलले अर्थ मन्त्रालयका राजश्व सचिव भूपाल बराललाई नेपालको अटोमोबाइल क्षेत्रको समस्याको सुनाएको छ ।
भेटघाट तथा छलफलमा अध्यक्ष उप्रेतीले शिथिल अवस्थामा रहेको नेपालको अटोमोबाइल क्षेत्रलाई गतिशील बनाउन आग्रह गरे । आवश्यक पर्ने केही नीति नियममा परिवर्तन आवश्यक रहेको र यसो भएमा सरकारले प्राप्त गर्ने राजश्व र रोजगारीमा पनि वृद्धि हुने उनले जनाए ।
अटोमोबाइल प्रतिनिधिहरूसँगको सो छलफलको क्रममा राजश्व सचिव बरालले नाडाबाट प्राप्त सुझाव कार्यान्वयनयोग्य रहेको र यी समस्याको विषयमा आफू जानकार रहेको बताए ।
यसै क्रममा अध्यक्ष उप्रेतीले सीकेडी उद्योगले रोजगारी समेत सिर्जना गर्ने भएकोले यसको स्थायित्वका लागि कम्पोनेन्ट उद्योगको आवश्यकता रहेको र त्यस्ता उद्योग खोल्न सरकारले प्रोत्साहन गर्नुपर्ने, त्यस्ता उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ आयात गर्दा छुटको व्यवस्था हुनुपर्ने बताए ।
देशको रोजगारीमा वृद्धि ल्याउने र राजश्व मार्फत राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुग्ने बताए । यसैक्रममा नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले अटोमोबाइल उद्योग विस्तार भएमा राजश्व र रोजगारीमा वृद्धि हुने भन्दै सरकारले अझैसम्म पनि सवारी साधनलाई विलाशीताको वस्तुमा राखेर वर्गीकरण गर्दै आएको गुनासो गरे ।



