काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २ खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।
केन्द्रीय बैंकले २० दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम खिच्न लागेको हो।राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत आवेदन दिन सकिने जनाएको छ। बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।
निक्षेप संकलनको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको रकमसम्म आवेदन दिन सक्नेछन्। आवेदन रकम १० करोड रुपैयाँले भाग जाने गरी निर्धारण गर्नुपर्नेछ। राष्ट्र बैंकका अनुसार सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकताका आधारमा रकम बाँडफाँट गरिनेछ। समान ब्याजदरमा परेको माग आह्वान रकमभन्दा बढी भएमा समानुपातिक आधारमा बाँडफाँट हुनेछ।
यसरी संकलन गरिएको निक्षेपको साँवा तथा ब्याज आगामी मंसिर १७ गते भुक्तानी गरिनेछ। उक्त रकम अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नपाइने भए पनि वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा गणना गर्न पाइने विभागले स्पष्ट गरेको छ।