काठमाडौं । नेपाली सेनाले प्राड, प्राविधिक, हवाई तथा विविध सेवा तर्फका विभिन्न अधिकृत पदहरूमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्न ५० जनाका लागि दरखास्त आव्हान गरेको छ ।
जङ्गी अड्डास्थित भर्ना छनौट निर्देशनालयले शुक्रबार (कात्तिक २७ गते) एक सूचना प्रकाशित गर्दै २० वटा विभिन्न विज्ञापनमार्फत उक्त संख्यामा उपसेनानी पदका लागि आवेदन माग गरेको हो ।
सेनाले आव्हान गरेको कुल ५० सिटमध्ये खुलातर्फ २८ र समावेशीतर्फ २० सिट छुट्याइएको छ । समावेशी कोटाअन्तर्गत आदिवासी/जनजाति र दलिततर्फ ५/५ सिट, महिला र मधेशीतर्फ ४/४ सिट तथा पिछडिएको क्षेत्रतर्फ २ सिट रहेका छन् । त्यसैगरी, सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रूपमा अशक्त नेपाली सैनिकका सन्ततिका लागि २ सिट आरक्षित गरिएको छ ।
सेवागत विवरणअनुसार सबैभन्दा बढी सैनिक प्राविधिक सेवातर्फ ३० जना माग गरिएको छ । प्राविधिकअन्तर्गत स्वास्थ्य समूहमा १४ जना (एम.बि.बि.एस. डाक्टर ९ तथा डेन्टिष्ट डाक्टर, अडियोलोजिष्ट एण्ड स्पिच ल्याङ्ग्वेज प्याथोलोजिष्ट, फिजियोथेरापिष्ट, पब्लिक हेल्थ एण्ड हाईजिन टेक्निसियन र फुड एण्ड न्यूट्रिशन टेक्निसियन १/१ जना), इन्जिनियरिङ्ग समूहमा १४ जना (सिभिल ३, कम्प्युटर ३, मेकानिकल २, आर्किटेक्चर २ तथा ईलेक्ट्रिकल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, बायोमेडिकल र अटोमोबाईल १/१ जना) र अन्य प्राविधिक (लाईब्रेरियन) मा २ जना रहेका छन् ।
त्यस्तै, सैनिक विविध सेवाअन्तर्गत लेखा उपसेनानीमा १३ जना, सैनिक हवाई सेवामा ५ जना (पाइलट उपसेनानी ३, ए.एण्ड सि. इन्जिनियर १ र एभियसन बन्दोबस्ती तथा प्राप्ती १) र सैनिक प्राड सेवाअन्तर्गत प्राड उपसेनानीमा २ जनाको माग गरिएको छ ।

पदअनुसार आवश्यक शैक्षिक योग्यता फरक–फरक तोकिएको छ । प्राड उपसेनानीका लागि कानूनमा स्नातक तह उत्तीर्ण गरी नेपाल कानून व्यवसायी परिषद्बाट अधिवक्ताको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ भने एम.बि.बि.एस., बि.डि.एस. तथा अन्य स्वास्थ्य र इन्जिनियरिङ्ग पदका लागि सम्बन्धित विषयमा स्नातक (वा बि.ई./बि.टेक.) उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ ।

यस्तै, पाइलट उपसेनानीका लागि भौतिक विज्ञानमा दश जोड दुई उत्तीर्ण गरी कमर्सियल पाइलट लाइसेन्स (सीपीएल) प्राप्त गरेको, एभियसन बन्दोबस्तीका लागि स्नातक तह उत्तीर्ण गरेको, लाईब्रेरियनका लागि लाइब्रेरी साइन्समा स्नातक गरी नेपाल लाइब्रेरी एसोसियसनमा दर्ता भएको र लेखा उपसेनानीका लागि वाणिज्य शास्त्रमा स्नातकसहित कम्तीमा तीन महिनाको कम्प्युटर आधार तथा दुई महिनाको कम्प्युटर एकाउन्टिङ्ग तालिम लिएको हुनुपर्ने सूचनामा उल्लेख छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले कात्तिक २७ गतेदेखि मंसिर १७ गतेसम्म सामान्य दस्तुरमा र मंसिर १८ देखि २४ गतेसम्म दोब्बर दस्तुर बुझाई आवेदन दिन सक्नेछन् । दरखास्त दस्तुर १ हजार रुपैयाँ तोकिएको छ भने एउटै विज्ञापनमा एकभन्दा बढी समूहमा आवेदन दिएमा प्रत्येक समूहका लागि २० प्रतिशत थप दस्तुर लाग्नेछ ।

आवेदकले नेपाली सेनाको आधिकारिक वेबसाइट www.nepalarmy.mil.np बाट अनलाइन दरखास्त फाराम भरी सोको प्रिन्ट प्रति र दस्तुर बुझाएको सक्कल भौचर वा अनलाइन भुक्तानी रसिदको प्रतिलिपिसहित नेपाली सेना केन्द्रीय भर्ना छनौट केन्द्र, स्वयम्भूमा स्वयम् उपस्थित भई दरखास्त पेश गर्नुपर्नेछ । एकल वा दोब्बर दस्तुर बुझाउने अन्तिम मितिका दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट कार्यालय खुलेको दिन दस्तुर बुझाई फाराम दर्ता गर्न सकिने सेनाले जनाएको छ ।