काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले आगामी असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्ना खातावालाहरूको राष्ट्रिय परिचयपत्रको विवरण भए/नभएको स्वघोषणा लिनुपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि एकीकृत निर्देशन, २०८२ मा संशोधन तथा परिमार्जन गर्दै बैंक खातामा राष्ट्रिय परिचयपत्र आबद्ध गर्न निर्देशन दिएको हो ।
यसअघि २०८१ माघ १ गतेदेखि नै राष्ट्रिय परिचयपत्रको विवरण वा नम्बरका आधारमा खाता खोल्ने व्यवस्था मिलाउन निर्देशन दिइएको थियो । हाल राष्ट्र बैंकले समयसीमा थप्दै खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो ।
“यस्तो स्वघोषणा मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट लिन सकिनेछ । परिचयपत्र प्राप्त गरिसकेका नेपाली नागरिकहरूको हकमा सोही अवधि अर्थात् २०८३ असोज मसान्तभित्रै परिचयपत्र वा परिचयपत्र नम्बर लिएर बैंक खाताको विवरण अद्यावधिक गरिसक्नुपर्नेे छ,” निर्देशनमा उल्लेख छ ।
हालसम्म राष्ट्रिय परिचयपत्र प्राप्त गर्न नसकेका ग्राहकहरूको हकमा बैंकहरूले परिचयपत्र बनाएर ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्नका लागि प्रत्येक ६ महिनामा जानकारी दिनुपर्नेछ ।
बैंकहरूले यस्तो जानकारी मोबाइल एप वा अन्य प्रभावकारी माध्यमबाट दिनुपर्ने व्यवस्था मिलाउनुपर्ने निर्देशनमा उल्लेख छ । सो व्यवस्थाले बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहकको पहिचानलाई थप व्यवस्थित तथा प्रमाणीकरण योग्य बनाउने बताइएको छ ।