![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेलको ८० प्रतिशत शेयर सतिशलाल आचार्यले किनेका छन् ।
आचार्य सञ्चालक रहेको स्पेक्ट्रलाइट यूकेले सेन्ट्स किट्स एण्ड नेभीसमा रहेको आजियाटा यूकेको रेनोल्ड्स होल्डिङ लिमिटेडको १०० प्रतिशत स्वामित्व खरिद गरेसँगै एनसेलको ८० प्रतिशत शेयर आचार्य सञ्चालक रहेको कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडको नाममा गएको हो ।
त्यसअघि एनसेलको ८० प्रतिशत शेयर स्वामित्व रेनोल्ड्स होल्डिङ लिमिटेडसँग थियो । स्पेक्ट्रलाइट यूकेले रेनोल्ड्स होल्डिङको १०० प्रतिशत शेयर स्वामित्व नै किनेर एनसेलको ८० प्रतिशत शेयर खरिद गरेको हो । स्पेक्ट्रलाइट यूकेका सञ्चालक आचार्य सिंगापुरमा रहेका नेपाली मुलका व्यवसायी हुन् ।
एनसेलको सो परिमाणको शेयर खरिद गरेसँगै उनले एनसेललाई अब आविष्कार र लगानीसँगै परिष्कृत सेवा दिने प्रतिबद्धता व्यक्त गरेका छन् । एनसेलले हाल प्रदान गर्दै आएको सेवाहरूको दायरा विस्तार गर्दै गुणस्तर अभिवृद्धि गर्न र डिजिटल आविष्कारहरूका साथ एनसेललाई अगाडि बढाउन स्पेक्ट्रलाइट यूके प्रतिबद्ध रहेको उनको भनाइ छ ।
‘एनसेलको शेयर होल्डिङका लागि यो सम्झौताको घोषणा गर्न पाएकोमा स्पेक्ट्रलाइट निकै खुसी छ । दूरसञ्चार क्षेत्रको मेरो वृहद् अनुभवका साथ एनसेल व्यवस्थापनसँगको सहकार्यमा इनोभेसन र लगानीसँगै नेपालमा रहेका करोडौँ ग्राहकलाई विभिन्न परिस्कृत सेवा प्रदान गर्न हामी प्रतिबद्ध छांै,’ उनले भनेका छन् ।
यस्तै, एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले नयाँ लागानीकर्तासँग काम गरी एनसेललाई डेटा र सञ्चार पूर्वाधारको एक नेपाली कम्पनीका रुपमा अघि बढाउन आफूहरू तत्पर रहेको बताएका छन् । ‘एनसेलको स्वामित्वमा आगामी दिनमा हुने परिवर्तनदेखि हामी खुसी छांँ र नयाँ लागानीकर्तासँग काम गरी एनसेललाई डेटा र सञ्चार पूर्वाधारको एक नेपाली कम्पनीका रुपमा अघि बढाउन हामी तत्पर छांै,’ उनले अगाडि भने, ‘आगामी दिनमा कम्पनीको परिष्कृत योजनाहरु घोषणा गर्दै सेवाहरूको दायरा फराकिलो बनाइने छ । जसले यो कम्पनीलाई एक प्रमुख डिजिटल सेवाप्रदायक तथा डेटा सेवा प्लेटफर्म बनाउनेछ ।’
सन् २००४ मा स्थापना भई सन् २००५ देखि सेवा सुरू गरेको एनसेल एनसेल नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनीका रूपमा रहँदै आएको छ । कम्पनीले उच्च गुणस्तरीय आधुनिक सेवा प्रदान गर्दै प्रत्येक नेपालीलाई आफ्नो नेटवर्कमार्फत जोड्न, आफ्ना ग्राहक र साझेदारहरूलाई लाभ प्रदान गर्न अनवरत रूपमा काम गर्दै आएको बताएको छ ।
सरकारले अंगिकार गरेको डिजिटल नेपालको अवधारणासँगै देशको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पुर्याउँदै एनसेलले आधुनिक मोबाइल नेटवर्क स्थापना गरी देशभरका नागरिकलाई सञ्चार सेवा प्रदान गरिरहेको छ । उच्च गतिको मोबाइल ब्रोडब्यान्डको राष्ट्रिय आवश्यकतालाई परिपूर्ति गर्न एनसेलले आफ्नो बृहत् फोरजी नेटवर्कमार्फत सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ । यसले नयाँ अवसर सिर्जना गर्दै देशलाई उज्यालो डिजिटल भविष्यतर्फ डोर्याइरहेको दाबी उसको छ ।
एनसेल नेपालको सबैभन्दा धेरै कर तिर्ने कम्पनीमध्ये एक भएको पनि कम्पनीले जनाएको छ । स्थापनादेखि गत आर्थिक वर्ष २०७८/७९ सम्म एनसेलले कर तथा अन्य शुल्क गरी विभिन्न शीर्षकमा २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी कर तिरेको कम्पनीकी कर्पोरेट कम्युनिकेशन एन्ड सस्टेनेबिलीटी हेड विशाखा लक्ष्मी खड्काले जानकारी दिइन् ।
उनका अनुसार एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ । एनसेल उत्कृष्ट नेटवर्क बनाउँदै र नेपालीलाई सञ्चार सेवाको पहुँचभित्र ल्याउँदै नेपालको अर्थतन्त्र र पूर्वाधार विकासमा योगदान पुर्याउन प्रतिबद्ध रहेको पनि उनले जनाएकी छिन् ।
आजियटालाई दूरसञ्चार प्राधिकरणले सोध्यो– शेयर बिक्रीपूर्व किन जानकारी नदिएको ?
एनसेलको शेयर बेच्ने निर्णयविरुद्ध अदातलले बोलायो दुबै पक्षलाई छलफलमा
FACEBOOK COMMENTS