काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (एनसीआईसीके) ले यही माघ १४ देखि १७ गतेसम्म आयोजना गर्ने ‘काठमाडौं बिजनेस एक्सपो, २०२६’ को तयारी पूरा भएको छ ।
आज आइतबार पत्रकार सम्मेलन गरी मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । काठमाडौंको ऐतिहासिक स्थान भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा हुने एक्सपोलाई भव्य, व्यवस्थित र आकर्षक रूपमा सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको संघका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार काठमाडौँ उपत्यकाको आर्थिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई थप सुदृढ बनाउँदै स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको हो । महोत्सवले घरेलु तथा साना उद्योग, स्टार्टअप र नयाँ उद्यमीहरूलाई बजार पहुँच, व्यावसायिक नेटवर्किङ र दृश्यता प्रदान गर्ने विश्वास लिइएको छ ।
करिब २०० भन्दा बढी अत्याधुनिक तथा व्यवस्थित व्यावसायिक स्टलहरू समावेश हुने महोत्सवमा स्थानीय तथा राष्ट्रिय उत्पादन र सेवाको प्रदर्शनी, रैथाने खानाको प्रतियोगिता, फुड फेस्टिभल, कन्सर्ट, लाइभ म्युजिक, कला–संस्कृतिका विविध प्रस्तुति, विषयगत झाँकी, पर्यटन प्रवर्द्धन कार्यक्रम, फोटोग्राफी स्पट, स्वास्थ्य शिविर लगायतका बहुआयामिक गतिविधिहरू सञ्चालन गरिनेछ । महोत्सवमा एक लाखभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ ।
उक्त महोत्सवमार्फत स्थानीय उत्पादनको बजार विस्तार, लगानी तथा व्यापारिक अवसरको सिर्जना, रोजगारीका अवसर सृजना तथा समग्र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने लक्ष्य लिइएको छ । साथै काठमाडौँ महानगरपालिकाको ‘एक वडा, एक नमूना उत्पादन’ अवधारणालाई सहकार्य गर्दै बजार प्रवर्द्धनमा समेत विशेष जोड दिइने बताइएको छ ।

महोत्सवमा कपडा तथा पहिरन, अटोमोबाइल, इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स, हस्तकला, कृषि उत्पादन तथा मेसिनरी, फर्निचर, फूड एण्ड बेभरेज, सूचना प्रविधि, ट्राभल तथा टुर सेवा, रियल स्टेट, हर्बल तथा अर्गयानिक उत्पादन, बैंक तथा वित्तीय संस्था, बीमा, स्वास्थ्य, सौन्दर्य, निर्यात–आयात तथा जिल्लागत विशेष उत्पादनहरू लगायतका विविध क्षेत्रका प्रदर्शकहरूको सहभागिता रहनेछ ।

अवलोकनकर्ताहरूमा सर्वसाधारण, व्यवसायी, उद्यमी, युवा उद्यमी, विद्यार्थी, स्टार्टअप, पर्यटक, फुड लभर्स, अन्तर्राष्ट्रिय पाहुना, आयात–निर्यात व्यवसायी, रिटेलर तथा कला–संस्कृति पारखीहरूको उल्लेखनीय सहभागिता रहने विश्वास लिइएको छ ।

प्रायोजन तथा सहकार्य

महोत्सवको प्रभावकारिता र व्यापक पहुँच सुनिश्चित गर्न टाइटल, प्रिजेन्टेड बाइ, को–स्पोन्सर, इक्जिम, बैंकिङ, इन्स्योरेन्स, क्लिनिङ, फायर सेफ्टी, हाइजेन र फुड कोर्ट पार्टनर र विशेष सर्पोटिङ प्याकेजहरूसहित प्रायोजनका अवसरहरू पनि खुल्ला गरिएको संघले जनाएको छ । जसमा सहभागी संस्थाहरूलाई मिडिया प्रमोशन, डिजिटल क्याम्पेन, टीभी/रेडियो तथा प्रिन्ट विज्ञापन, बाहिरी होर्डिङ, ब्यानर, ग्राउन्ड एक्टिभेशनलगायतका विस्तृत प्रचार–प्रसार सुविधाहरू प्रदान गरिएको छ ।

जस अनुसार आइडिया फर वर्ल्ड ‘टाइटल स्पोन्सर’, एईसीसी ग्लोबल ‘प्रिजेन्टेड बाइ’ र स्वारी नेपाल ‘पावर्ड बाइ’ रहेका छन् । यस्तै को–स्पोन्सरहरूमा कजारिया टाइल्स, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, फेसियल हाउस, श्रीनाथ कलेक्सन रहेका छन् ।
यसैगरी अग्नी इक्जिम लिमिटेड ‘इक्जिम पार्टनर’, एनएमबि बैंक बैंकिङ पार्टनर, नेको इन्स्योरेन्स ‘इन्स्योरेन्स पार्टनर’, भरोसा सर्भिस प्रालि ‘क्लिनिङ पार्टनर’, हिट्को प्रालि ‘फायर सेफ्टी पार्टनर’, मैनाली इन्डष्ट्रीज प्रालि ‘आइजिन पार्टनर’, जेरोना वेलनेस प्रालि ‘स्किन केयर पार्टनर’, जिल्ला होटेल व्यवसायी संघ काठमाडौं ‘फुड कोर्ट पार्टनर’ रहेका छन् ।
त्यस्तै, क्वान्टम इन्फोटेक एण्ड कनेक्ट सोलुसन प्रालि ‘बेभरेज एण्ड फुड पार्टनर’, लभाज्जा ‘कफी पार्टनर’, डिभिल्ला ‘पास्ता पार्टनर’, सीसीटीभी नेपाल ‘सीसीटीभी पार्टनर, ए एण्ड बी बेभरेज इन्डष्ट्रीज प्रालि ‘ड्रिङ्किङ वाटर पार्टनर’, डाटाहब ‘क्लाउड एण्ड होस्टिङ पार्टनर’ र ओप्सोरी ओमन डेभलपमेन्ट अर्गनाइजेशन ‘मार्केटिङ पार्टनर’ रहेको संघले जानकारी दिएको छ ।
महोत्सवलाई काठमाडौँ जिल्लाभित्रका नगरपालिकाहरू, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग वाणिज्य संघ बागमती प्रदेश, नेपाल पर्यटन बोर्ड, नेपाल वितरण्क संघ, ट्रेड, एक्स्पोर्ट एण्ड प्रमोशन सेन्टर, ललितपुर चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीज, हस्तकला महासंघ, रिद्धिसिद्धि ज्वेलर्स, बजार अटो लिमिटेड, सामाजि सुरक्षा कोष, आइडियल इन्स्टिच्युट फर फेशन टेक्नोलोजीलगायतको सहकार्य र समर्थन रहेको पनि संघले बताएको छ ।
ऐतिहतसिक र भव्य महोत्सव उद्घाटन समारोहअन्तर्गत बसन्तपुरदेखि भृकुटीमण्डपसम्म प्रचारात्मक झाँकी एवम् र्याली आयोजना गरिने भएको छ । उक्त दिन बिहान ९ बजे बसन्तपुरस्थिति कुमारी घरमा पूजाआजापछि सोही स्थानबाट कार्यक्रमस्थल भृकुटीमण्डपसम्म प्रचारात्मक र्याली निकालिने छ । उक्त र्याली भृकुटीमण्डपमा पुगेपछि औपचारिक कार्यक्रम सुरूवात भइ महोत्सवको औपचारिक उद्घाटन गरिने तयारी संघको छ ।
महोत्सवको प्रभावकारी प्रचारका लागि सम्पूर्ण सञ्चारकर्मी र सञ्चारमाध्यमहरूलाई संघले आग्रह गरेको छ ।
FACEBOOK COMMENTS