काठमाडौं । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र श्रीलङ्कन चेम्बर अफ स्मल एण्ड मिडियम इन्टरप्राइजेज (एसएलसीएसएमआई) बीच साना तथा मझौला उद्यम प्रवर्द्धन, व्यापार तथा लगानी अभिवृद्धिका लागि रणनीतिक साझेदारीको सम्झौता भएको छ ।
श्रीलङ्काका लागि नेपाली राजदूत डा. पूर्णबहादुर नेपालीको उपस्थितिमा सम्झौता पत्रमा एनसीसीका तर्फबाट अध्यक्ष कमलेश कुमार अग्रवाल र एसएलसीएसएमआईका तर्फबाट अध्यक्ष रोहन डी शिल्भाले हस्ताक्षर गरेका छन् । श्रीलङ्कास्थित नेपाली राजदूतावासको समन्वयमा यो रणनीतिक साझेदारीको सम्झौता भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।
दुई संस्थाबीच साना तथा मझौला उद्यमहरूको प्रवद्र्धन, दुईदेशीय व्यापार एवं लगानीको अवसर तथा नेपाल श्रीलङकाको निजी क्षेत्रबीच व्यापार सहजीकरण गर्र्ने विषयमा सम्झौता भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । साना तथा मझौला उद्यममा एक अर्काको देशमा भएका अभ्यास, नीतिगत व्यवस्था, क्षमता अभिवृद्धि कार्यक्रम, प्रशिक्षण, कार्यशाला गोष्ठी जस्ता विषयमा सहकार्य गर्ने विषयमा सम्झौतामा हस्ताक्षर भएको हो ।
यस्तै, दुवै देशका चेम्बर प्रतिनिधिहरूबीच दुई पक्षीय भेटवार्ता, साना तथा मझौला उद्यममा दुई पक्षीय लगानी जस्ता विषयमा पनि सहकार्य हुने जनाइएको छ । साना तथा मझौला उद्यमीहरूद्धारा उत्पादित बस्तुहरूको एक अर्काका देशमा प्रर्दशनी एवम् व्यापार अभिवृद्धि गर्नका लागि नेपाल चेम्बर अफ कमर्स एनसीसी र एसएलसीएसएमआईका तर्फबाट समन्वय गरिने विषय सम्झौतामा उल्लेख छ ।
दुई पक्षीय व्यापार सहजीकरण, प्रविधि हस्तान्तरण, साना तथा मझौला उद्योगको सम्भावना सम्वन्धमा संयुक्त खोज तथा अनुसन्धान गरिने चेम्बरले जनाएको छ । खासगरी नेपाल र श्रीलङ्कामा साना तथा मझौला उद्यमको प्रर्वद्धन गर्नका लागि दुई देशका चेम्बरबीच रणनीतिक साझेदारीको सम्झौता भएको विज्ञप्तिमा उल्लेख छ ।
FACEBOOK COMMENTS