काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले इन्द्रजात्राको पावन अवसरमा काठमाडौंको हनुमानढोका, वसन्तपुरमा विशेष सांस्कृतिक कार्यक्रम तथा नेवारी भोज आयोजना गरेको छ ।
असोज १० गते शनिबार त्वा: छे, हनुमानढोका, वसन्तपुरमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा कुमारीको रथ तान्ने ऐतिहासिक तथा सांस्कृतिक परम्परासँगै नेवारी संस्कृति झल्काउने विभिन्न कार्यक्रम प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका पदाधिकारी तथा सदस्य, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जान श्रेष्ठ, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछाने लगायत उद्योगी–व्यवसायीको उपस्थिति थियो ।


त्यस्तै विभिन्न धार्मिक तथा सांस्कृतिक अगुवा, बुद्धिजीवी तथा स्थानीयवासीको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा नेवारी संस्कृति, कला, परम्परा तथा मौलिक खानपान झल्काउने विभिन्न गतिविधि प्रस्तुत गरिएको थियो । सहभागीहरूले नेवारी भोजको स्वाद लिनुका साथै नेवारी संस्कृतिसँग सम्बन्धित विभिन्न सांस्कृतिक गतिविधिको अवलोकन गरेका थिए ।


नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवद्र्धनका लागि यस्ता कार्यक्रम आयोजना गर्नुपर्ने जनाएको छ ।
नयाँ पुस्तालाई मौलिक संस्कृति र परम्परासँग जोड्न तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको भनाइ छ ।