काठमाडौं । आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपालले नेदरल्याण्डसको सामना गर्दैछ ।
यस खेलमा नेदरल्याण्ड्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै यस खेलमा नेपालले पहिला ब्याटिङको निम्तो पाएको हो । नेपालले यस सिरिजमा पहिलो पटक पहिला ब्याटिङ गर्न लागेको छ ।
नेपालले यस सिरिजमा यसअघि खेलेका तीन मध्ये दुई खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा स्कटल्याण्डविरुद्ध एक विकेटको रोमाञ्चक जित हासिल गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्डसविरुद्ध पाँच विकेटको जित निकालेको थियो । त्यस्तै तेस्रो खेलमा स्कटल्याण्डविरुद्ध दुई रनको झिनो अन्तरको हार बेहोरेको थियो ।
नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म ६ एकदिवसीय खेल भएका छन् । जसमा नेपालले तीन खेल जितेको छ भने नेदरल्याण्डसले पनि ३ खेलनै जितेको छ ।
हाल लिग–२ को अंक तालिकामा नेपाल १५ खेलमा १० अंकसहित सातौं स्थानमा रहेको छ । नेपालले १५ खेलमा ४ खेल जितेको छ भने ९ खेलमा हार बेहोरेको छ र २ खेलको नतिजा आएको छैन । त्यस्तै नेदरल्याण्डसको २२ खेलमा २६ अंक रहेको छ र हाल दोस्रो स्थानमा रहेको छ ।
नेपाली टिममा तीन परिवर्तन
आजको खेलमा नेपालले तीन परिवर्तन गरेको छ । नेपालले आज सोमपाल कामी, गुलशन झा र आसिफ सेखलाई बाहिर राख्दै नन्दन यादव, बसिर अहमद र अनिल शाहलाई अवसर दिइएको छ ।
यस सिरिजमा असिफले ओपन गर्दै २०, १९ र ८ रन बनाएका थिए भने सोमपालले पछिल्लो खेलमा ६७ रनको शानदार पारी खेलेका थिए र तीन खेलमा ५ विकेट लिएका थिए । त्यस्तै गुलशन झाले तीन खेलमा ११, ११ र ४२ रन बनाएका थिए ।
नेदरल्याण्डसविरुद्ध खेल्ने नेपाली टिम:
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, अनिल शाह, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी रहेका छन् ।
FACEBOOK COMMENTS