काठमाडौं । नेपाल राष्ट्र बैंकले एक वर्षे अवधिका लागि २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ ।
राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘ग’ उपकरण प्रयोग गरी ऋणपत्र निष्कासन गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार यसको ब्याजदर पनि बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ ।
बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम पाँच करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
ऋणपत्रको स्वीकृत बोल रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर)मा गणना गर्न पाइनेछैन । यसअघि राष्ट्र बैंकले पुस १४ मा पनि एकवर्षे अवधिको २५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘क’ निष्कासन गरेको थियो । त्यस्तै, पुस १६ मा पनि एकवर्षे अवधिको २५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ख’ निष्कासन गरेको थियो ।
FACEBOOK COMMENTS