काठमाडौं । नेपाल एसबीआई बैंकले हिजो सोमबार आफ्नो ३२औं वार्षिकोत्सव मनाएको छ ।
सो अवसरमा बैंकले शपथ ग्रहण समारोह आयोजना गरेको थियो, जहाँ बैंकका सबै कर्मचारीहरूले बैंकप्रतिको जिम्मेवारीका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले बैंकको उपलब्धिका बारेमा प्रकाश पारे । साथै, उनले बैंकको दिगो प्रगति कायम राख्न व्यक्तिगत जिम्मेवारी वहन गर्नुपर्नेमा पनि जोड दिए ।
त्यसैगरी, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्दले बैंकको उपलब्धिमा योगदान पुर्याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिँदै यसरी नै योगदानको निरन्तरताका लागि आग्रह गरे ।
प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डाले सबै सरोकारवाला तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे ।
उक्त अवसरमा बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सोही दिन काठमाडौंको कमलादीस्थित कर्पोरेट कार्यालयसहित सबै प्रदेश कार्यालयहरूमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
साथै, फरक रूपले सक्षम भएका व्यक्तिहरूलाई रूपन्देहीको भैरहवामा व्हीलचेयर वितरण कार्यक्रम पनि आयोजना गरेको थियो ।
नेपाल एसबीआई बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र एक कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
FACEBOOK COMMENTS