काठमाडौं । नेपाली कांग्रेसले आज संसद सञ्चालन हुने बताएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आजदेखि संसद जबर्जस्ती भए पनि सञ्चालन हुने दाबी गरेका छन् ।
संघीय संसद परिसरमा पत्रकारहरूसँग कुरा गर्दै प्रमुख सचेतक घिमिरेले धेरै दिन भएकाले यसलाई लम्ब्याएर लैजान नसकिने भन्दै आज संसद चल्ने दाबी गरेका हुन् ।
उनले भने ‘संसद चल्छ, संसदका क्रियाकलापहरू आजदेखि संसद कार्यसूचीमा प्रवेश गर्छ । धेरै दिन भयो, यसलाई लम्बाएर लैजान सकिँदैन । आम जनतामा पनि यसले राम्रो सन्देश दिएको छैन । एकदमै निहुँ खोज्ने हिसाबले विपक्षी दलबाट कुराहरू आएको छ । यसलाई सधैँ यही ढङ्गले अनिर्णयको बन्दी बनाउन सकिँदैन ।’
भिजिट भिसा प्रकरणमा विपक्षीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै जेठ १३ गतेदेखि संसद अवरोध गरिरहेका छन् । विपक्षीहरूले जेठ १५ गते बजेट प्रस्तुत गर्न दिए पनि त्यसपछि जेठ २० गतेदेखि बोलाइएका बैठक अवरोध गर्दै आएका छन् ।
पछिल्लो समय प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले गृहमन्त्री लेखकको राजीनामाको अडान छोडेर भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्न जोड दिएको छ । छानबिन समिति बनाइने प्रतिबद्धता मात्रै आए पनि सदनको अवरोध खुलाउन माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी तयार रहेको बुझिएको छ ।
तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने गृहमन्त्री लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा छानबिन दुवै मागमा अडिग छ ।
FACEBOOK COMMENTS