मधेस प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव प्रस्तावित
कर्पोरट खबर
8:55 pm, बुधबार, असोज २२, २०८२
जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई प्रस्तावित गरिएको छ । प्रदेश प्रमुख कार्यालयमा नयाँ सरकार गठनका लागि तीन दलले आज संयुक्त रूपमा दाबी पेस गरेको हो ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र जनमत पार्टीले कांग्रेस संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको कार्यालयमा दाबी प्रस्तुत गरेका हुन् ।
आज अपराह्न तीनै दलका नेताहरूले प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भई नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम बहुमतको सरकार गठनका लागि औपचारिक दाबी पत्र बुझाएको हो ।
दाबी पत्रअनुसार मुख्यमन्त्रीमा प्रस्तावित यादवलाई एमालेका २३, नेपाली कांग्रेसका २२ र जनमत पार्टीका १३ गरी कुल ५८ जना प्रदेशसभा सदस्यको समर्थन रहेको छ । एक सय सात सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि ५४ सदस्यको बहुमत आवश्यक पर्छ । गठबन्धनसँग स्पष्ट बहुमत रहेको दाबी पत्रमा उल्लेख छ ।
प्रदेश प्रमुख कार्यालयमा बुझाइएको पत्रमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव, कांग्रेस संसदीय दलका नेता यादव र जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले हस्ताक्षर गरे ।
FACEBOOK COMMENTS