एक समय यस्तो थियो कि नेपाली चलचित्र बजारमा हलिउड र बलिउड चलचित्रहरूको दबदबा हुन्थ्यो । हलिउड र बलिउड चलचित्रप्रतिको दर्शकको ‘क्रेज’का कारण नेपाली चलचित्रले हलहरूमा शो नपाएर ‘रोनाधोना’ गर्नुपरेका घटनाहरू त्यति पुराना पनि भइसकेका छैनन् । र, नेपाली चलचित्र बजारमा अझै पनि यस्तो अवस्था नआउला भनेर दाबी गर्न सकिने अवस्था बनिसकेको छैन ।
तर, पछिल्लो समय नेपाली चलचित्रले लिन थालेको बजारले भने केही आशा जगाएको छ । यस वर्ष प्रदर्शनमा आएका नेपाली चलचित्रहरूले गरेको उत्साहजनक व्यापारले यो अवस्था बनेको हो । वैशाखयता प्रदर्शनमा आएकामध्ये १४ वटा चलचित्र ‘हिट’ भएका छन् । तीमध्ये विजय बराल शीर्ष भूमिकामा रहेको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ बक्स अफिसमा ऐतिहासिक कमाइ गर्ने नेपाली चलचित्रको रेकर्ड राख्न सफल भयो ।
‘पूर्णबहादुरको सारंगी’सँगै ‘बोक्सीको घर’, ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ धेरै राम्रो कमाइ गर्ने चलचित्र बने । ‘पुजार सार्की’, ‘खुस्मा’ र ‘बेहुली फ्रम मेघौली’ले पनि राम्रै व्यापार गरे । ‘मनसरा’, ‘फर्की फर्की’, ‘घर ज्वाइँ’ र ‘ज्वाइँ साब’ले पनि घरेलु बजारबाटै लगानी सुरक्षित गरे । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र फेस्टिभलमा पुगेका ‘शाम्बाला’ र ‘गाउँ आएको बाटो’ले मनग्य दर्शक ताने । पछिल्लो पटक प्रदर्शनमा आएको ‘ह्रस्व दीर्घ’ले उत्साहजनक कमाइ गरेको छ भने प्रदर्शनरत र प्रदर्शन तयारीमा रहेका अन्य केहीले चलचित्रले पनि राम्रो बजार लिने अपेक्षा गरिएको छ ।
सिनेमा हलहरूमा नेपाली चलचित्रले पाइरहेको दर्शकको भरपुर साथले चलचित्रकर्मीहरू उत्साहित छन् । हाल ओटीटी प्लाटफर्मबाट पनि नेपाली चलचित्रले कमाइ गरिरहेका छन् । चलचित्रकर्मीका लागि चलचित्र चल्नु त खुसीको कुरा भयो नै, चलचित्र राम्रो छ भनेर गइरहेको सन्देश नेपाली सिने उद्योगका लागि अर्को कोसेढुंगा हो । यसले नेपाली दर्शकमा हलिउड र बलिउड चलचित्रप्रतिको ‘क्रेज’ घटाउँदै नेपाली चलचित्रमा आकर्षण बढाइरहेको छ । पछिल्लो समय सिनेमा हलमा नेपाली चलचित्रले हिन्दी चलचित्रलाई समेत पछि पारेका छन् ।
‘पूर्णबहादुरको सारंगी’सँगै हिट बलिउड सिक्वेल चलचित्र ‘सिंघम अगेन’ र ‘भूलभुलैया ३’ प्रदर्शन गरिएका थिए । भारतमा ‘हिट’ भएका यी चलचित्र नेपालमा भने नेपाली चलचित्रकै कारण ओझेलमा परे । यसबीच नेपाली चलचित्रको लहर यस्तो भयो कि कतिपय हिन्दी चलचित्र प्रदर्शन नै गरिएन । अहिलेका नेपाली चलचित्रले नयाँ दर्शक बढाएका छन् । कतिपय त पहिलो पटक चलचित्र हेर्न आउने दर्शक पनि छन् । यो माहोलले नेपाली चलचित्र उद्योग नै फेरिँदै गइरहेको छ भन्ने देखाएको छ । अनि, राम्रो कथावस्तु र परिपक्व अभिनय भए नेपाली दर्शक हलिउड र बलिउड चलचित्रको साटो नेपाली चलचित्रमै पनि आकर्षित हुने रहेछन् भन्ने पुष्टि गरिदिएको छ ।
यस्ता छन् यस वर्ष हिट भएका १४ नेपाली चलचित्रहरू-
बोक्सीको घर : वैशाख १४ गते प्रदर्शनमा आएको ’बोक्सीको घर’ ले दर्शकको राम्रो साथ पायो । बोक्सी कुप्रथाबारे बनेको यो चलचित्रले सुरूआतमै राम्रो प्रभाव पारेको थियो । चलचित्रले ५१ औं दिन मनाउँदै गर्दा निर्माण टिमले १० करोड रूपैयाँ कमाएको जानकारी दिएको थियो । यो चलचित्रको ‘बुझिनँ मैले’ गीतले पनि चलचित्रको चर्चा बढाउन सहयोग गरेको थियो । सुलक्षण भारतीले निर्देशन गरेको चलचित्रमा केकी अधिकारी, सुलक्षण भारती, सुफला सापकोटा, स्वेच्छा राउत, रमा थपलिया लगायत कलाकारको अभिनय छ ।
मनसरा : वैशाख २१ गते रिलिज ‘मनसरा’ ले एक सातामा ३ करोड २० लाख रूपैयाँ कमाएको निर्माण टिमले जनाएको थियो । उपेन्द्र सुब्बाले निर्देशन गरेको यो चलचित्रमा प्रवीण खतिवडा, मिरूना मगर, मेनुका प्रधान, दयाहाङ राईलगायत कलाकारको अभिनय छ । चलचित्रमा अन्तरसांस्कृतिक/जातीय सम्बन्धको कथा देखाइएको छ ।
पुजार सार्की : दिनेश राउतले निर्देशन गरेको चलचित्र ‘पुजार सार्की’ जेठ १० गतेदेखि चलेको थियो । आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराईली, परीक्षा लिम्बू, पल शाहलगायतको मुख्य भूमिका रहेको यो चलचित्रले चर्चा र दर्शक राम्रै पाए पनि हालसम्म यसले कति कमाइ गर्यो भनेर सार्वजनिक गरिएको छैन ।
फर्की फर्की : अनमोल केसी र जसिता गुरूङ अभिनीत चलचित्र ‘फर्की फर्की’ जेठ १० गते ‘पुजार सार्की’सँगै रिलिज भएको थियो । दर्शकको राम्रै साथ पाएको यो चलचित्रको कमाइ पनि निर्माताले सार्वजनिक गरेका छैनन् ।
घर ज्वाइँ : असार २८ गते प्रर्दशनमा आएको ‘घर ज्वाइँ’ले ५१औं दिन मनाउँदै गर्दा निर्माण टिमले ६ करोड रूपैयाँभन्दा बढी कमाइ गरेको बताएको थियो । अनिल बुढा निर्देशित चलचित्रमा दयाहाङ राई र मिरूना मगरको मुख्य भूमिका छ ।
खुस्मा : असोज ३ गते प्रदर्शनमा आएको ‘खुस्मा’ले ६ करोड रूपैयाँभन्दा धेरैको व्यापार गर्यो । यो चलचित्रमा धीरज मगर र उपासना सिंह ठकुरी शीर्ष भूमिकामा छन् । अशोक थापमगरले चलचित्र लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा समावेश गीत ‘रूकुम मैकोट’ले पनि निकै चर्चा पाएको थियो ।
बेहुली फ्रम मेघौली : असोज १७ गते रिलिज चलचित्र ‘बेहुली फ्रम मेघौली’ले चार करोड रूपैयाँभन्दा धेरै कमायो । यसले प्रदर्शनको तीन दिनमै दुई करोड २५ लाख रूपैयाँ कमाएको थियो । तर, यो चलचित्र सिनेमा हलमा दुई साता मात्रै चल्यो । दर्शक हुँदा पनि शो कम दिएको भन्दै निर्माताले चलचित्र हलबाट उतारेर ओटीटी प्लाटफर्ममा ल्याए । चलचित्रमा स्वस्तिमा खड्का, निश्चल बस्नेत, बसुन्धरा भुषाल, विजय बराल, सिम्रन खड्का, रक्षा थापा, लोकेन्द्र लेखक, सिरू विष्ट, आमिर गौतमलगायत कलाकारको अभिनय छ । यो चलचित्र सजन काफ्ले र आकाश बरालले लेखन तथा निर्देशन गरेका हुन् ।
छक्का पञ्जा ५ : वितरकका अनुसार दसैंको फूलपाती (असोज २४)मा रिलिज भएको ‘छक्का पञ्जा ५’ले २० करोड रूपैयाँभन्दा धेरै कमायो । दीपाश्री निरौलाले निर्देशन गरेको ‘छक्का पञ्जा ५’मा दीपकराज गिरी, केदार घिमिरे, वर्षा सिवाकोटी शीर्ष भूमिकामा छन् ।
१२ गाउँ : फूलपातीमै रिलिज ‘१२ गाउँ’ले चार सातामा २५ करोड ५० लाख रूपैयाँ कमाएको दाबी गरिएको छ । विराज भट्टको निर्देशन तथा अभिनय रहेको यो चलचित्रबाट उनका छोरा समीर भट्टले ‘डेब्यू’ गरेका छन् । बाबुछोरासहित चलचित्रमा सोनु चन्द्रपाल, दीया मास्के, मुरलीधर, सनिशा भट्टराई, नरेन खड्का, न्यान्सी खड्का, स्टन्ट शिल्भा, सन्तोष सरकार, कनिज कोइराला, शुलेमान शंकर (इकु), कृष्ण भट्टलगायतको अभिनय छ ।
ज्वाइँ साब : फूलपातीमै रिलिज अर्को चलचित्र हो, जितु नेपाल र पूर्वमिस नेपाल नीति शाह अभिनीत ‘ज्वाइँ साब’ । ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’सँग भिडे पनि यो चलचित्रले सुखद् व्यापार ग¥यो । निर्माताले यो चलचित्रले ५ करोड रूपैयाँभन्दा बढीको व्यापार गरेको दाबी गरेका छन् । वसन्त निरौलाले निर्देशन गरेको चलचित्रमा जितु र नीतिसहित बुद्धि तामाङ, हिमेश पन्त, कमलमणि नेपाल, शिशिर वाङ्देल, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ ।
शाम्बाला : थुप्रै अन्तर्राष्ट्रिय चलचित्र फेस्टिभलमा पुगेको मीन भाम निर्देशित ‘शाम्बाला’ले घरेलु बजारमा पनि दर्शकको साथ पायो । यो नेपालमा महँगो लगानी अर्थात् १५ करोड रूपैयाँमा निर्मित चलचित्र हो । निर्माण पक्षले यसले प्रदर्शनको पहिलो हप्तामा एक करोड ४० लाख रूपैयाँ कमाएको दाबी गरेको थियो । तर, चलचित्रको पूर्ण कमाइ सार्वजनिक गरिएको छैन । ‘शाम्बाला’मा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दल्हा, कर्मा वाङ्ग्याल गुरूङ, कर्मा शाक्यलगायत कलाकारको अभिनय छ ।
गाउँ आएको बाटो : नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ पनि थुप्रै अन्तर्राष्ट्रिय चलचित्र फेस्टिभलमा पुगेको चलचित्र हो । दयाहाङ राई, पशुपति राई र प्रसन राईको मुख्य भूमिका रहेको यो चलचित्रको कमाइ सार्वजनिक गरिएको छैन । तर, दर्शकले यो चलचित्र मनग्य रूचाएका थिए ।
पूर्णबहादुरको सारंगी : विजय बराल शीर्ष भूमिकामा रहेको ‘पूर्णबहादुरको सारंगी’ रेकर्डमाथि रेकर्ड बनाउन सफल चलचित्र हो । यो चलचित्र नेपालको इतिहासमा सबैभन्दा धेरै कमाउने बन्यो । यसका साथै एक दिनमा सर्वाधिक कमाइ गर्ने, सर्वाधिक शो पाउने, सबैभन्दा छिटो २० करोड रूपैयाँ कमाउने चलचित्रको रेकर्ड पनि राख्न सफल भयो । हाल हलबाट उतारिसकिएको यो चलचित्र प्रदर्शन अवधिमा सबैभन्दा बढी चर्चामा रह्यो ।
तिहारको लक्ष्मीपूजा (१५ कात्तिकबाट) प्रदर्शनमा आएको यो चलचित्रले घरेलु र अन्तर्राष्ट्रिय बक्स अफिसबाट गरी ६९ करोड १० लाख रूपैयाँ कमायो । यसले घरेलु बक्स अफिसबाट ४५ करोड ७४ लाख रूपैयाँ र अन्तर्राष्ट्रिय बक्स अफिसबाट २३ करोड ३५ लाख रूपैयाँ कमाएको हो । सरोज पौडेल निर्देशित यो चलचित्रमा विजय बरालसहित प्रकाश सपूत, अञ्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, देशभक्त खनाल, अलिशा बाँस्कोटा, भोलाराज सापकोटालगायतको अभिनय छ ।
ह्रस्व दीर्घ : कात्तिक ३० गते रिलिज नीता ढुंगाना निर्मित ‘ह्रस्व दीर्घ’ले १० करोड ६० लाख रूपैयाँ ग्रस कलेक्शन गरेको छ । चलचित्रले नेपालमा १९ दिनमा उक्त कमाइ गरेको निर्मात्री तथा अभिनेत्री नीता ढुंगानाले जानकारी दिएकी छन् । यो चलचित्रमा चर्चित दक्षिण भारतीय कलाकारहरूको पनि अभिनय छ । चन्द्र पन्तको निर्देशन रहेको चलचित्रमा नीता र उनका श्रीमान् ज्योतिषी हरिहर अधिकारी शीर्ष भूमिकामा छन् । साथमा ब्रह्मानन्दम, प्रदीप रावत, अली, कवीर दुहान सिंह, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चीता लुईँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसीलगायतको अभिनय छ । नीता चलचित्रसको प्रस्तुतिमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । चलचित्रलाई भारतमा समेत छिट्टै थिएटर रिलिज गरिने जनाइएको छ । चलचित्रलाई हाल क्यूएफएक्सलगायतका मल्टिप्लेक्स चेनले भने उतारेका छन् । दक्षिण भारतीय चलचित्र ‘पुष्पा २’ रिलिजसँगै ‘ह्रस्व दीर्घ’को शो हटाइएको हो ।
FACEBOOK COMMENTS