काठमाडौं । आजदेखि नयाँ वर्ष २०८२ प्रारम्भ भएको छ ।
२०८१ को समाप्तिसँगै सुरू भएको नयाँ वर्षको अवसर पारेर देशका राष्ट्रपति देखि पूर्वराजा ज्ञानेन्द्र शाहसम्मले शुभकामना सन्देश जारी गरेका छन् ।
शुभकामना सन्देशमा शुभकामनाका साथै उनीहरूले राजनीतिक र समसामयिक विषयमा समेत आ–आफ्नो धारणाहरू मिसाएका छन् । यस क्रममा मुलुकको व्यवस्था बदल्नेसम्मको अठोटहरू व्यक्त गरिएका छन् ।
रामचन्द्र पौडेल, राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको बाटोमा बाधक बनेर देखिने बेथितिको अन्त्य, सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त भएको बताएका छन् । नववर्ष २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले आजको दिन जनताको यही चाहना पूरा गर्ने सङ्कल्प गर्न उनले आग्रह गरेका छन् । ‘आजको दिन राष्ट्रको उन्नति र समृद्धिका लागि उत्साहका साथ जुट्न र एउटा साझा सङ्कल्प लिएर अघि बढ्न म सम्बद्ध सबैलाई अपिल गर्दछु,’ उनले भनेका छन् । शुभकामना सन्देशमा विक्रम संवत् प्राचीन हिन्दु परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य संवत् रहेको उल्लेख गर्दै उनले इतिहास र सामाजिक जीवनमा लामो समयदेखि स्थापित यो संवतले हाम्रो सभ्यता, सामाजिक जीवन र परम्पराहरूको प्रतिनिधित्व गर्दै नेपालको गौरवमय विगतलाई सम्झाउने र उन्नत भविष्यतिर अगाडि बढ्न प्रेरित गर्ने उल्लेख गरेका छन् । ‘हामी नेपालीहरू नयाँ वर्षलाई विगतको समीक्षा गर्ने तथा आगामी दिनका लागि प्रतिज्ञा र संकल्प गर्ने शुभसाइतका रूपमा लिन्छौँ,’ उनले शुभकामना सन्देशमा भनेका छन्, ‘विशेष पर्व र दिनहरूमा जीवनका लक्ष्यहरू निर्धारण गर्ने र त्यसलाई पूरा गर्न जीवनभर सङ्कल्पबद्ध रहने हाम्रो परम्परा छ । यस अर्थमा नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न सङ्कल्प गर्ने दिन हो ।’ राष्ट्रपति पौडेलले ठूलो राजनीतिक परिवर्तनपछि जनताले राखेको तीव्र आकाङ्क्षाको परिपूर्तिमा हुन गएको केही ढिलाइ र केही कमीकमजोरीलाई देखाएर भ्रमपूर्ण स्थिति सृजना गर्न खोजिएका प्रयत्नहरू एक–एक गरी बिस्तारै निस्तेज हुँदै जाने विश्वास व्यक्त गरेका छन् । विश्व प्रविधिमैत्री भइसकेको अवस्थामा प्रविधिमैत्री अभ्यासलाई अझ बृहत् बनाई सुदृढ गर्दै लैजानुपर्नेमा उनले जोड दिएका छन् । कृषि, पर्यटन, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगधन्दा मुलुकको अर्थतन्त्रको मूल मेरुदण्ड भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आर्थिक वृद्धिका यी क्षेत्रमा विद्यमान समस्या हटाएर उपयुक्त नीति, कानुन र अवसरको सिर्जना गर्दै कृषि, पर्यटन र जलस्रोतको विकासद्वारा समृद्ध राष्ट्र निर्माण गर्ने सङ्कल्प गर्न आग्रह गरेका छन् । ‘आजका दिनले हामी, हाम्रा राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण नागरिकलाई अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बन्न प्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु,’ जारी शुभकामना सन्देशमा भनिएको छ ।
रामसहायप्रसाद यादव, उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ र बलियो बनाउन संविधानका कमीकमजोरीलाई संशोधन गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । नयाँ वर्ष २०८२ को उपलक्ष्यमा आज शुभकामना व्यक्त गर्दै उनले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्व–शासनको अधिकारलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले शुभकामना सन्देशमा भनेका छन्, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ र बलियो बनाउन संविधानका कमीकमजोरीलाई संशोधन गर्दै नयाँ कानुनको आवश्यकता भए वा संविधानको परिमार्जन गर्न सम्बन्धित निकायलाई प्रतिबद्धताका साथ अघि बढन नयाँ वर्षले उत्प्रेरित गर्न सकोस् भन्ने कामनाका साथ नव वर्ष २०८२ को अवसरमा शुभकामना व्यक्त गर्दछु ।’ उपराष्ट्रपति यादवले मुलुकमा वर्षाँैदेखि अक्षुण्ण रहेका विविधता र एकतालाई सम्बोधन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने सङ्कल्प र प्रण लिने अवसरका रूपमा उपयोग गर्नुपर्ने शुभकामना सन्देशमा उल्लेख गरेका छन् । नववर्षको महत्त्व व्यक्तिगत स्तरमा मात्रै सीमित नभई यसको सामाजिक, सांस्कृतिक र आर्थिक महत्त्व उत्तिकै रहेको बताउँदै उनले जीवनमा नयाँ प्रेरणा प्रदान गर्दै आफ्ना वरपर सकारात्मकताको भाव फैलाउने अवसरका रूपमा आत्मसात गर्न आवश्यकता औँल्याएका छन् । ‘नववर्षको स्वागत अत्यन्तै हर्षोल्लास र परम्परागत रूपमा गरिनुले हामीलाई आफ्नो सांस्कृतिक विरासतलाई संरक्षित गर्दै पिँढीदर पिँढी हाम्रा रैथाने संस्कृति र परम्पराको रूपान्तरणमा पनि सघाउँदछ,’ उपराष्ट्रपति यादवले भनेका छन् । यस अवसरमा लिइने सङ्कल्पले जीवनमा अनुशासन र स्थिरता कायम राख्नमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले हरेक व्यक्तिले आफन्तजन, परिवारजन, शुभचिन्तक र इष्टमित्रको राम्रो स्वास्थ्य, दीर्घायु र सुखद भविष्यको कामना गर्दै नववर्षलाई उत्सवका रूपमा मनाइनुले परिवार र समुदायगत रूपमा अपनत्वभावलाई जीवन्त राख्दै एकीकृत समाजलाई अक्षुण्ण राख्न टेवा पुग्ने बताएका छन् । ‘यस अवसरमा हामीले नेपालको आर्थिक उन्नयन, शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा द्रुत प्रगतिका लागि एकजुट भई अघि बढ्ने प्रयासमा जुट्ने दृढ सङ्कल्पित र प्रतिबद्ध हुन जरुरी छ, नैतिकता, इमानदारी र परिश्रमका साथ देशको समृद्धि र विकासमा अग्रसर हुन सम्पूर्ण सबैलाई नववर्षले थप हौसला प्रदान गरोस्,’ उनले भनेका छन् ।
देवराज घिमिरे, सभामुख, प्रतिनिधिसभा
सभामुख देवराज घिमिरेले नयाँ वर्ष २०८२ मा रोजगारी सिर्जना गर्दै उद्यमशीलताको प्रवर्द्धन र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार हुने विश्वास गरेका छन् । नयाँ वर्षमा मुलुकलाई स्थायित्व, विकास, समृद्धि र सामाजिक न्यायतर्फ अघि बढ्न प्रेरणा प्राप्त हुने उनको विश्वास छ । नयाँ वर्ष २०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, ‘हामीले लामो सङ्घर्ष र बलिदानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सामाजिक न्याय, र शान्ति प्रक्रियाको संस्थागत अभ्यास सुरु गरिसकेका छौँ, यी उपलब्धिहरूको रक्षा गर्नु र थप सुदृढ गर्दै लैजानु हाम्रो ऐतिहासिक जिम्मेवारी हो, हामीले पूरा गरिसकेको राजनीतिक यात्रालाई उल्टाउने होइन ।’ विविध संस्कृतिहरू र गौरवशाली इतिहास बोकेको नेपाल नयाँ सम्भावनाहरूतर्फ अगाडि बढिरहेको उल्लेख गर्दै उनले आगामी दिनमा विकास र समृद्धिको दिशामा अघि बढ्न भौतिक, आर्थिक, सामाजिक तथा सुशासनका आधारहरूलाई सुदृढ गर्दै पूर्वाधार विकास गर्नुपर्ने बताएका छन् । शुभकामना सन्देशमा भनिएको छ, ‘नयाँ वर्षले नेपाली समाजमा आपसी मेलमिलाप, एकता, समृद्धि र लोकतान्त्रिक मूल्यमान्यताप्रतिको विश्वासलाई थप मजबुत बनाउने अपेक्षा लिएको छु ।’ नेपालमा नयाँ वर्षको उत्सव सांस्कृतिक र सामाजिक परम्परासँग गहिरो रूपमा गाँसिएको उल्लेख गर्दै उनले नयाँ वर्षलाई नवीकरणको प्रतीकको रूपमा मानिने बताएका छन्, जसले नयाँ लक्ष्य निर्धारण गर्न, सकारात्मक परिवर्तनलाई आत्मसात् गर्न र एकताको भावना विकसित गर्न प्रेरित गर्ने उनको विश्वास छ ।
नारायणप्रसाद दाहाल, अध्यक्ष, राष्ट्रियसभा
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ वर्षमा बाँकी रहेका सबै ऐन–कानुन छिटोछरितो निर्माण हुने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष २०८२ सालको अवसरमा शुभकामना व्यक्त गर्दै उनले ८० को दशकलाई समृद्ध एवं विकसित नेपाल निर्माणको आधार बनाउन सबैको योगदान आवश्यक रहेको बताएका छन् । अध्यक्ष दाहालले भनेका छन्, ‘सङ्घीय संसदले कानुन निर्माण, सरकारका कामकारबाहीमा निगरानी र खबरदारी एवं जनताका आवाजको प्रतिनिधित्व गर्ने विशिष्ट भूमिका खेल्दै आएको छ, तर नयाँ संविधान जारी भएको १० वर्ष पुग्नै लाग्दा पनि हामीले सङ्घीयता कार्यान्वयनसम्बन्धी महत्त्वपूर्ण कतिपय कानुन निर्माण गर्न सकेका छैनौँ ।’ कानुन निर्माण गर्न नसक्दा सेवा प्रवाहमा असहजता पैदा हुने र नागरिकमा अन्योलता बढाउने उनको भनाइ छ । त्यसैले कानुन निर्माण गर्दा राजनीतिक दलहरू दलीय स्वार्थमा नलागी देशको समृद्धि र जनचाहना सम्बोधन गर्दै समस्या समाधानतर्फ केन्द्रित हुन जरुरी रहेको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । ‘जनताका भावना र न्यूनतम आवश्यकता परिपूर्ति गर्न राज्यले प्रत्याभूति दिलाउन नसक्दा जनतामा फैलिएको निराशालाई प्रतिगामीहरूले हाम्रा उपलब्धिमाथि नै प्रश्न उठाउन खोज्नु ०८१ सालको दुखद पक्ष हो, त्यसतर्फ सचेत हुँदै गणतन्त्रविरोधी हर्कतलाई बेलैमा निस्तेज पारी गणतन्त्रको विकल्प अझ उन्नत गणतन्त्र मात्रै हुन सक्दछ भन्ने विषय आम नागरिकलाई बुझाउनु हामी सबैको दायित्व हो,’ सन्देशमा भनिएको छ ।
केपी शर्मा ओली, प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा गन्तव्य प्राप्त गर्न सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक भएको बताएका छन् । नयाँ वर्ष २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि, प्रगति, सफलता र नयाँ उत्साह पैदा गरोस् भन्ने कामना गर्दै अनेकौँ कठिनाइका बाबजुद हासिल गरेका उपलब्धिलाई आधार बनाएर हामी उज्यालो भविष्यतर्फ अगाडि बढ्न सफल हुने विश्वास उनले व्यक्त गरेका छन् । ‘नयाँ वर्षमा हामी नयाँ ऊर्जा नयाँ सङ्कल्प र नयाँ सम्भावनाको खोजी गर्छौँ । यस वर्षले हामी सबैमा आशा, उत्साह र सकारात्मक सोचको विकास गर्न प्रेरणा भर्ने छ भन्ने विश्वास लिएको छु । देशलाई समृद्ध र जनतालाई सुखी बनाउने हाम्रो साझा सङ्कल्प हो ।’ प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘राष्ट्रको साझा आकाङ्क्षा साकार पार्न सरकार एक्लैले मेहनत गरेर पुग्दैन, देशभित्र र बाहिर रहेका सबै नेपालीको साझा प्रयास, मेहिनत र योगदानले मात्र हामी यसमा सफलता पाउन सक्छौँ ।’ प्रधानमन्त्री ओलीले जातीय, क्षेत्रीय, सांस्कृतिक र धार्मिक विविधता हाम्रो राष्ट्रका साझा सम्पति हुन् भन्दै यिनलाई परस्पर विरोधी शक्तिका रूपमा नभई तिनीहरूबीचको एकतालाई शक्तिका रूपमा विकास गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । मुलुकमा आज विकास केवल सपना नभई यथार्थ बनिरहेका, यसबीचमा ग्रामीण भेगहरूमा बनेका भौतिक पूर्वाधार, तिनले जनजीवनमा पर्न थालेको प्रत्यक्ष सकारात्मक प्रभाव र सामाजिक सेवा प्रणालीमा भएका सुधार लोकतान्त्रिक प्रणालीका उपलब्धि भएका प्रधानमन्त्रीले उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले युवापुस्ता राष्ट्रका सम्भावना भएकाले उनीहरूको जोश, जाँगर र सिर्जनशीलतालाई राष्ट्र निर्माणको मूलधारमा ल्याउन सरकारले उद्यमशीलता, प्रविधि, शिक्षा र स्वरोजगारमार्फत आत्मनिर्भर र आत्मविश्वासी बनाउने नीति अवलम्बन गरेको सन्देशमा बताएका छन् । सन्देशमा प्रधानमन्त्रीले भनेका छन्, ‘मुलुकको लोकतान्त्रिक प्रणालीले ल्याएको परिवर्तनलाई हामीले हेर्ने मात्र होइन, त्यसलाई अँगाल्ने, उत्सवको रूपमा मनाउने र अझ सकारात्मक दिशामा अघि बढ्ने सङ्कल्प लिनुपर्छ । निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गर्दै राष्ट्रप्रेम, एकता र प्रगतिमा भरोसा गर्दै अघि बढ्नुपर्दछ ।’
रमेश लेखक, गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थालाई थप सुदुढीकरण गर्दै देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि आह्वान गरेका छन् । नयाँ वर्ष २०८२ सालको अवसरमा आज स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं प्रगतिको कामनासहित शुभकामना व्यक्त गरेका हुन् । उनले सन्देशमा भनेका छन्, ‘हामी सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थामा र समावेशी चरित्रको राज्य निर्माण गर्ने राजनीतिक व्यवस्थामा छौँ, नयाँ वर्षसँगै यो व्यवस्था अझै सुदृढ हुनेछ ।’ उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक समाज भएको देश भएको उल्लेख गर्दै त्यो नै नेपालीको सम्पत्ति र विशेषता भएको उल्लेख गरेका छन् । नेपाली समाज सबै जातजाति धर्म, वर्ण, समुदाय र भूगोल एकआपसमा मिलेर बसेको समाज रहेको स्पष्ट पार्दै उनले एकअर्काकाप्रति सहिष्णु हुँदै सबैले एकअर्काको धर्म, जाती, संस्कृति र भाषालाई सम्मन गर्दै मिलेर देश विकासमा अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
रामनाथ अधिकारी, कृषि तथा पशुपन्छी विकासमन्त्री
त्यसैगरी, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नयाँ वर्षले हामी सबैमा नयाँ सोच, नयाँ समाधान र थप जोश, जाँगर सिर्जना गरी मुलुकलाई शान्ति र समृद्धिको दिशामा अग्रसर गराओस् भनी शुभकामना व्यक्त गरेका छन् । ‘नयाँ वर्षले हामी सबैमा उत्साह, उमङ्ग र ऊर्जा भरेर देशको समृद्धि र विकासमा योगदान पुर्याउन प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु । कृषि प्रधान हाम्रो देशको समुन्नति र आत्मनिर्भरता कृषिको आधुनिकीकरण र व्यावसायीकरणबाट मात्र सम्भव छ भन्ने दृढ विश्वास लिएको छु,’ उनले सन्देशमा भनेका छन् । सामुदायिक स्तरदेखि राष्ट्रिय नीतिसम्म समन्वय गरी कृषकको जीवनस्तर उकास्न, पशुपालन व्यवसायलाई प्रवर्द्धन गर्न र खाद्य सुरक्षालाई सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ छ । सरकारले कृषि क्षेत्रको विकासका लागि विभिन्न नीतिगत सुधार, प्रविधिको प्रयोग र कृषकमैत्री कार्यक्रम अघि बढाउँदै आएको जानकारी दिँदै मन्त्री अधिकारीले भनेका छन्, ‘आगामी दिनमा कृषि क्षेत्रमा गरिएका प्रतिबद्धतालाई सार्थक रूप प्रदान गर्नको लागि हाम्रो प्रयासहरु त्यस तर्फ केन्द्रित हुनेछ ।’
शेरबहादुर देउवा, सभापति, नेपाली कांग्रेस
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एकजुट भएर राष्ट्रिय चुनौतीहरूको सामना गर्नुपर्ने बेला आएको बताएका छन् । नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले प्राप्त उपलब्धिहरूको रक्षा गर्दै भविष्यमा आउने राष्ट्रिय चुनौतिहरूको एकजुट भई सामना गर्ने दृढ सङ्कल्प र अठोट आवश्यक रहेको बताएका हुन् । उनले मुलुकमा सुशासन कायम गर्दै आर्थिक विकास र समृद्धिको मार्गमा अग्रसर हुनुपर्ने बेला आएको पनि बताए । ‘यसका लागि सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकायहरू मुलुक, मुलुकवासी र लोकतन्त्रको पक्षमा आ–आफ्ना दलगत स्वार्थ र सिमाभन्दा माथि उठेर एकतावद्ध भई अगाडि बढ्न आवश्यक छ,’ शुभकामना सन्देशमा देउवाले भनेका छन् । नयाँ वर्षले नेपालीबीच एकतालाई अझै बढी मजबुत र सुदृढ गर्ने विश्वास देउवाले व्यक्त गरेका छन् । ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरेर आर्थिक, सामाजिक र सांस्कृतिक रूपले समृद्ध नेपाल निर्माण गर्न नयाँ जोश, उत्साह र जाँगर प्रदान गरोस्,’ शुभकामना सन्देशमा उनले भनेका छन् ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’, अध्यक्ष, माओवादी केन्द्र
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्ध राष्ट्र निर्माणका लागि एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन् । नयाँ वर्ष २०८२ को अवसरमा आज शुभकामना दिँदै उनले देशको समृद्धि र उज्ज्वल भविष्यका लागि दृढतापूर्वक आफ्ना पाइला अघि बढाउन आग्रह गरेका हुन् । ‘हामी गौरवशाली इतिहास बोकेका सार्वभौम नेपाली हौँ, हामीले न्याय, स्वतन्त्रता र समानताका लागि त्याग, तपस्या र बलिदानका कैयौँ कीर्तिमान कायम गरेका छौँ, हाम्रो भविष्य पछाडि फर्केर होइन, अगाडि बढेर मात्र उज्यालो बन्न सक्छ,’ शुभकामना सन्देशमा अध्यक्ष दाहालले भनेका छन् । उनले वर्ष २०८२ मा आत्मनिर्भर अर्थतन्त्रको विकासमार्फत रोजगारीको सिर्जनासँगै सुशासनका नयाँ मानक स्थापित गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिएका छन् । लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ सुदृढ लोकतान्त्रिक गणतन्त्र भएको उल्लेख गर्दै अध्यक्ष दाहालले नववर्षमा नेपाली जनता सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र अग्रगामी परिवर्तन चाहन्छन् भन्ने तथ्य पुनः पुष्टि गर्दै नयाँ सङ्कल्प लिनुपर्ने बताए । २०८२ साल नयाँ चुनौती र अवसर लिएर आएको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधानको पूर्ण कार्यान्वनमार्फत जनअपेक्षा पूरा गर्नेतर्फ ध्यान दिन सबैको ध्यानाकर्षण गराएका छन् ।
बाबुराम भट्टराई, अध्यक्ष, नेसपा
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ वर्ष सुरु भएसँगै जनताको समृद्धिको सपना पूरा हुने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष भट्टराईले नयाँ वर्ष २०८२ को पावन अवसरमा आज स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका हुन् । शुभकामना सन्देशमा अध्यक्ष भट्टराईले भनेका छन्, ‘नयाँ वर्षले सम्पूर्ण नेपालीहरूमा सुख, समृद्धि र खुसी लिएर आओस् । सबै नेपालीहरूको मनको आकाङ्क्षा पूरा होस् । राजनीतिक अस्थिरताको समाधान मिलोस् ।’
झलनाथ खनाल, वरिष्ठ नेता, एकीकृत समाजवादी
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झनाथ खनालले नयाँ वर्षको सुरुआतसँगै देशका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरू, प्रगतिशील शक्तिहरू तथा देशभक्तहरूले नयाँ धरातलबाट सोच्नुपर्ने बताएका छन् । नयाँ वर्ष २०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, ‘नयाँ वर्षको अवसरमा सबै कम्युनिष्ट क्रान्तिकारीहरूले नयाँ घरातलबाट सोचौँ, विगतमा कहाँ गल्ती भयो सबैले समीक्षा गरौँ, वर्तमान सङ्कटपूर्ण परिस्थितिको गम्भीरतालाई आत्मसात गरौँ ।’ उनले आगामी ०८४ सालमा हुने निर्वाचनलाई ध्यानमा राख्दै कम्युनिष्टहरूबीचको फुट र विभाजनले ल्याउने परिणामको बारेमा सचेत हुन सबैलाई आग्रहसमेत गरेका छन् । ‘वैज्ञानिक समाजवाद नै अब सिङ्गो नेपाली कम्युनिष्ट आन्दोलनको साझा लक्ष्य हो भन्ने कुरामा एकमत बनौँ, पुँजीवादी जनवाद, बहुदलीय जनवादका थोत्रा बनिसकेका अवधारणाहरूबाट मुक्त बनौँ,’ उनले भनेका छन् । नेपाली विशेषताको समाजवादी कार्यक्रम र त्यसलाई प्राप्त गर्ने कार्यदिशा, नीति, सिद्धान्त, रणनीति, कार्यनीति र लक्ष्यका आधारमा एकताबद्ध हुनुपर्ने उल्ल्ेख गर्दै उनले कम्युनिष्ट पार्टीलाई सर्वहारा श्रमिकवर्गको स्वतन्त्र क्रान्तिकारी शक्तिका रूपमा खडा गर्नुपर्ने विचार व्यक्त गरेका छन् ।
खिलराज रेग्मी, पूर्वअध्यक्ष, मन्त्रिपरिषद्
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले जनतामा देखिएको असन्तुष्टि, आक्रोश र बढिरहेको निराशाको कारण र निदान खोज्दै सम्बोधन गर्नु राज्यको दायित्व रहेको बताएका छन् । नववर्ष २०८२ को उपलक्ष्यमा दिएको शुभकामना सन्देशमा उनले जनता खुसी र सुखी भएमा मात्र राष्ट्रिय एकता, आपसी सद्भाव, अमन चयन कायम भई राज्य बलियो हुने धारणा व्यक्त गरेका छन् । पूर्वप्रधानन्यायाधीशसमेत रहेका रेग्मीले सबै विषयको संवाहक शक्ति जनता भएकै कारण लोकतन्त्रमा जनता सर्वोपरी हुन् भनिएको स्पष्ट पारे । उनले सन्देशमा भनेका छन्, ‘नेपालको सामाजिक र राजनीतिक इतिहास हेर्नेे, सम्झने र मनन गर्ने हो भने लाखौँको बलिदान भएको छ, त्यसै जनता सार्वभौम बनेका होइनन् ।’ शिक्षा, स्वास्थ्य, रोजगारी आम सरोकारका विषय भएको उल्लेख गर्दै पूर्वअध्यक्ष रेग्मीले कृषि, कृषिजन्य उद्योग र पर्यटनलाई जनसाधारणसँग जोडेर जनजीविकाको सशक्त माध्यम बनाउनु अनिवार्य भएको सुझाव दिए । उनले भनेका छन्, ‘आजको मुख्य विषय भनेको जनताको आवश्यकताको पहिचान र त्यसको सशक्त सम्बोधन, परिणाममुखी र नतिजामुखी काम नै हो । राज्यको साधनस्रोतको अधिकतम सदुपयोग र त्यसको प्रतिफल जनतासमक्ष पुग्नु नै हाम्रो सफलता हो, जनताको सन्तुष्टिको अवस्था हो ।’ पूर्वअध्यक्ष रेग्मीले समयको माग र गतिसँगै विश्व रङ्गमञ्चमा आफ्नो उपस्थितिको समीक्षा गर्दै राज्यको उन्नति र जनताको समृद्धिमा प्रतिबद्ध भई एकजुट हुन नयाँ वर्ष सफल होस् भन्ने कामना गरे ।
ज्ञानेन्द्र शाह, पूर्वराजा
पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख र शान्तिका लागि शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्ष विस २०८२ को उपलक्ष्यमा भिडिओमार्फत शुभकामना सन्देश जारी गर्दै उनले नेपालीहरू एकआपसबीच द्वन्द्व नहोस् र परस्परमा हिंसाको दुखद मनस्थिति नबनोस् भन्नेमा आफू सधँै सचेत र संवेदनशील रहेको उल्लेख गरेका छन् । त्यसैगरी, उनले केही दिनअघि तीनकुनेमा भएको हिंसा, आगजनी, तोडफोड तथा प्रदर्शनका क्रममा भएको मानवीय र भौतिक क्षतिको घटनाप्रति दुःख व्यक्त पनि गरेका छन् ।
उपेन्द्र यादव, अध्यक्ष, जसपा नेपाल
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले नयाँ वर्षसँगै मुलुक सुशासन र आर्थिक समृद्धिको बाटोमा अग्रसर हुने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष २०८२ को पावन अवसरमा आज स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त उनले भनेका छन्, ‘नयाँ वर्षको शुभारम्भसँगै मुलुकमा आपसी एकता, भाईचारा, दिगो शान्ति, सामाजिक सद्भाव, सहिष्णुता, न्याय एवं राजनीतिक स्थायित्वलाई अझै सुदृढ बनाउँदै मुलुक सुशासन र आर्थिक समृद्धिको बाटोमा अग्रसर होस् भन्ने हार्दिक कामना गर्दछु ।’
FACEBOOK COMMENTS