काठमाडौँ । जसरी सानो ‘झिल्को’ ले ठूलो आगलागी निम्त्याउन सक्छ, त्यसरी नै डिजिटल कुलतको सानो लतले व्यक्ति, समाज र परिवारमा गम्भीर असर पार्न सक्छ । ‘झिल्को’ चलचित्र यही यथार्थमा आधारित छ ।
यसले डिजिटल कुलतको सुक्ष्म रूप र त्यसले पार्ने प्रभावलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ । आज मोबाइल हाम्रो जीवनको अभिन्न अङ्ग बनिसकेको छ । एक समय सम्पर्कको माध्यममात्र रहेको मोबाइल अहिले हाम्रो जीवनशैलीलाई नै निर्देशित गर्ने शक्तिशाली औजार बनेको छ । दुःखको कुरा, यसको कुलतमा बालबालिका पनि फस्दै गइरहेका छन् । ‘झिल्को’ ले यही ज्वलन्त समस्यालाई उजागर गरेको छ ।
निर्देशक यादव भट्टराईले बालबालिकामा बढ्दो डिजिटल कुलतको गम्भीर समस्यालाई चलचित्र ‘झिल्को’ मार्फत उजागर गरेका छन् । आजभोलि खाना खानुभन्दा अगाडि मोबाइल चलाउने, अनलाइन गेम खेल्ने र युट्युबमा ‘भिडिओ’ हरू हेर्ने बानी बालबालिकाका लागि सामान्यजस्तै भइसकेको छ ।
चलचित्रमा यिनै विषयवस्तु र त्यसले पार्ने नकारात्मक असरलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । यस चलचित्रमा आयुषी ढकाल, विशाल पोखरेल, वर्षा सिवाकोटी र सुनिल पोखरेल जस्ता कलाकारले सशक्त अभिनय गरेका छन्, जसले कथालाई जीवन्त बनाएको छ ।
अभिभावकहरूले पनि बालबालिकाको मोबाइल प्रयोगलाई सामान्य ठानेर बेवास्ता गर्दा भविष्यमा यसले कस्तो गम्भीर रूप लिन सक्छ भन्ने कुरा ‘झिल्को’ चलचित्रले चित्रण गरेको छ । चलचित्रमा एक पत्रकारको सुखी र खुसी परिवारको कथा छ, जहाँ उनका श्रीमती र छोरी छन् । तर, यही सुखी परिवारमा डिजिटल कुलतको सानो ‘झिल्को’ कसरी सल्किन्छ र त्यसले कस्तो असर पुर्याउँछ भन्ने कुरालाई चलचित्रमा मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । यसले समयमै सचेत नभए परिवारमा आउन सक्ने सम्भावित खतरालाई उजागर गर्छ ।
प्रविधिमैत्री यो समयमा डिजिटल कुलतबाट आफू जोगिनु र आफ्ना बालबालिकालाई जोगाउनु एउटा ठूलो चुनौती बनेको छ । सुरुमा सामान्य लाग्ने यो लतले भविष्यमा परिवारमात्र नभई सामाजिक सम्बन्धमा समेत नकारात्मक असर पार्न सक्छ भन्ने कुरा ‘झिल्को’ चलचित्रले स्पष्ट रूपमा देखाएको छ । टेलिशृङ्खलाबाट चलचित्रमा प्रवेश गरेका अभिनेता पोखरेलले यस चलचित्रमा काम गर्दा आफूले डिजिटल कुलतजस्तो महत्त्वपूर्ण विषयमा नयाँ ज्ञान प्राप्त गरेको बताए ।
‘अहिले मैले आफूलाई डिजिटल कुलतबाट केही भए पनि बाहिर ल्याउन सकेको जस्तो लागेको छ । यो चलचित्रमा अभियन गर्नुअगाडि र अहिलेको सोचमा निकै परिवर्तन आएको छ । यसबाट हामीभन्दा नयाँ पुस्ता र विशेषगरी बालबालिकालाई बचाउनु जरुरी छ । म आफैँले पनि पछिल्लो समय दैनिकीमा परिवर्तन ल्याएको छु,’ उनले भने ।
अभिनयको सुरु समयमा अभिनेता पोखरेलले ‘जीवनचक्र’ जस्तो स्वास्थ्य विषयमा आधारित टेलिशृङ्खलामा काम गरेका थिए । टेलिशृङ्खलासँगै केही चलचित्रमा काम गरिसकेका अभिनेता पोखरेललाई निर्देशक यादव भट्टराईसँग भेट्ने प्रस्ताव आयो । अभिनेता पोखरेल भने सानो पर्दा अर्थात् टेलिशृङ्खलामा काम नगर्ने सोचका साथ भेट्ने उद्देश्यले मात्र पुगे ।
‘मलाई टेलिशृङ्खला वा आफू देखिनमात्र काम गर्नु थिएन । किनकि मैले धेरै काम गरिसकेको थिएँ । तर, निर्देशक भट्टराईले डिजिटल कुलतको विषयमा चर्चा गर्नुभएपछि म नै उक्त विषयमा सोच्न बाध्य भएँ । किनकि यस्तो विषयलाई अनुसन्धान गरेर चलचित्रमा ल्याइएको छैन,’ अभिनेता पोखरेलले भने ।
नेपालमा पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ता बढेका छन् । मोबाइल चलाउनु दैनिकीको हिस्सा बनिसकेको छ । अहिले सामाजिक सञ्जालमा ‘झिल्को’ बनेर फैलिने खबरले न्यायालयभन्दा अगाडि फैसला सुनाइसक्छ । एउटा सानो श्रव्यदृश्य वा कसैले केही लेखेकै भरमा डिजिटल माध्यमले मानिसलाई गर्ने असरलाई पनि चलचित्रले समेटेको छ । यी सबको विषयमा जानकारी पाएपछि अभिनेता पोखरेलले आफैँ सामाजिक सञ्जालमा उपस्थिति कम गरे । आफ्नो घरमा बच्चालाई डिजिटल उपकरणसँग निकै कम पहुँच दिन थाले । यसले बिस्तारै आएको परिवर्तनलाई उनले महसुस गरेका छन् ।
‘अहिले मेरो घरमा राति सुत्ने बेलामा लगभग ११ बजे ‘वाइफाइ राउटर’ बन्द हुन्छ । त्यो बिहान मात्र खुल्छ । मैले सुरूमा बच्चालाई मनाउन कठिनाइको सामना गर्नुपरे पनि विस्तारै उनीहरूको दिनचर्या र शैलीमा परिवर्तन आउन थालेको छ । यो चलचित्रको उद्देश्य ‘भर्चुअल संसार’ बाट बाहिर निकालेर वास्तविक संसारमा रमाउन सिकाउनु हो । यसका लागि बालबालिकामात्र दोषी छैनन्, किनकि उनीहरूलाई मोबाइलको पहुँच दिलाउने हामी अभिभावक नै हौँ,’ अभिनेता पोखरेलले भने ।
कोभिड–१९ का कारण भएको बन्दबन्दीमा बालबालिकाले प्रविधिको सहायताले कक्षा लिए । ‘अनलाइन क्लास’ का कारण धेरै बालबालिकासम्म मोबाइल पुग्यो । तर, त्यसबाट फिर्ता ल्याउन वा मोबाइलको लत छुटाउन अभिभावकले ध्यान दिएनन् । जसकारण त्यो बिस्तारै लतमा परिणत भएको बुझाइ अभिनेता पोखरेलले सुनाए ।
‘हामीले पनि घरमा हुँदा वा बालबालिकासँग हुँदा ‘भर्चुअल वर्ल्ड’ त्यागेर उनीहरूसँग रमाउन सक्नुपर्छ । हामी मोबाइल चलाउने अनि बालबालिकालाई हुँदैन भन्ने भो भने त्यसले समाधान दिँदैन, त्यसैले हामी अभिभावक पनि सच्चिनु जरुरी छ । सुरूआत हामीबाट हुनुपर्छ अनि त्यसको नतिजा राम्रो आउँछ,’ उनले भने ।
मिडिया फर कल्चर प्रालिको निर्माणमा तयार भएको चलचित्र ‘झिल्को’ वैशाख १९ गतेबाट देशभर प्रदर्शन भइरहेको छ । उक्त चलचित्रमा निर्देशक भट्टराईसँगै अरुणदेव जोशी र देव व्रतले कथा लेखनको काम गरेका छन् ।
FACEBOOK COMMENTS