काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडीहरू एक्सट्रीम इनर्जी ड्रिंकको ‘टिम एक्सट्रीम’मा आबद्ध भएका छन्।
एक्सट्रीम र राष्ट्रिय टोलीका खेलाडीबीच आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा औपचारिक सहकार्य सम्झौता भएको हो।
सम्झौताअनुसार सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, पवन सर्राफ, ईशान पाण्डे, करण केसी र लोकेश बम एक्सट्रीमका ब्रान्ड सदस्यका रूपमा जोडिएका छन्।
सम्झौतापछि खेलाडीहरूले प्रयोग गर्ने क्रिकेट ब्याटमा एक्सट्रीम इनर्जी ड्रिंकको लोगो राखिनेछ। त्यस्तै, कम्पनीले आयोजना गर्ने विभिन्न प्रवर्द्धनात्मक, ब्रान्ड तथा खेलकुदसम्बन्धी गतिविधिमा पनि खेलाडीहरूको सहभागिता रहनेछ।
नेपाली क्रिकेटको बढ्दो लोकप्रियतासँगै युवा पुस्तामा खेलकुदप्रति आकर्षण र उत्साह बढाउने उद्देश्यले राष्ट्रिय टोलीका खेलाडीसँग सहकार्य गरिएको कम्पनीले जनाएको छ। खेलाडीहरूको लोकप्रियता र युवापुस्तामाझ उनीहरूको प्रभावलाई ध्यानमा राखेर गरिएको सहकार्यले क्रिकेट र व्यावसायिक ब्रान्डबीचको सम्बन्धलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा एक्सट्रीमले नेपाल प्रिमियर लिग (एनपीएल) मा आबद्ध आफ्ना सात टोलीलाई समेटेर तयार पारिएको विशेष संस्करणको क्यानसमेत सार्वजनिक गरेको छ।

विशेष क्यानमा सम्बन्धित टोलीको पहिचान र क्रिकेट समर्थकको उत्साहलाई समेटिएको कम्पनीले जनाएको छ। एनपीएलको माहोलसँग ब्रान्डलाई जोड्दै क्रिकेटप्रेमी तथा समर्थकमाझ आफ्नो उपस्थिति थप बलियो बनाउने उद्देश्यले विशेष संस्करण ल्याइएको कम्पनीको भनाइ छ।

एक्सट्रीमले आगामी दिनमा क्रिकेटसहित विभिन्न खेलकुद गतिविधिमा सहकार्य र सहभागितालाई निरन्तरता दिने जनाएको छ।