काठमाडौं । नेपाल मैदा उद्योग सङ्घ र भारतको कृषि सूचना तथा परामर्श सेवा प्रदायक संस्था एग्रीवाचबीच सहकार्यका लागि सम्झौता भएको छ । सम्झौताअनुसार भू–उपग्रह (स्याटेलाइट) प्रविधिको प्रयोग गरी नेपालको कृषिक्षेत्र पहिचान, विश्लेषण र परामर्श प्रदान गरिने छ । निजी क्षेत्रबाट यस प्रकारको पहल पहिलो पटक भएको हो ।
नेपाल मैदा उद्योग सङ्घको २४औं वार्षिक साधारणसभाका अवसरमा शुक्रबार उक्त सम्झौता भएको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यता र सङ्घका अध्यक्ष कुमुद दुगडको सभापतित्वमा भएको साधारणसभामा उक्त सम्झौता भएको हो ।
सम्झौताबाट हुने लाभ
एग्रीवाचसँगको सहकार्यबाट नेपालले कृषि बजार मूल्य सङ्कलन, दैनिक, साप्ताहिक र मासिक बजार विश्लेषण जस्ता सेवा पाउने छ । यसबाट कृषक र व्यापारीलाई सही निर्णय लिन सहयोग पुग्ने विश्वास गरिएको छ ।
यसका साथै, कृषि वस्तुहरूको उत्पादन, उपभोग, आयात–निर्यात विश्लेषण, बजार प्रवृत्तिको मूल्याङ्कन, बीउ, मल तथा अन्य कृषि निवेशसम्बन्धी अध्ययन र सल्लाह पनि उपलब्ध हुने छन् ।
डिजिटल कृषि समाधानअन्तर्गत एआई–आधारित बाली विश्लेषण, व्यक्तिगत कृषि परामर्श तथा बजार जडान सेवाहरू पनि उपलब्ध हुने छन् । यसले कृषकहरूलाई आधुनिक प्रविधि अपनाउन सहज बनाउने छ र सरकारले भविष्यमा अपनाउनुपर्ने कृषि रणनीति निर्माणमा सघाउने छ ।
भारतीय सहभागिता
कार्यक्रममा भारत सरकारअन्तर्गतको राष्ट्रिय सहकारी निर्यात लिमिटेड (एनसीईएल) का प्रबन्ध निर्देशक अनुपम कौशिकको विशेष उपस्थिति थियो । भारत सरकारले कृषि वस्तु निर्यात, कोटा व्यवस्थापन लगायतका अधिकार यस संस्थालाई दिएको छ । विगतमा नेपालले आयात गरेका गहुँ र चिनी जस्ता खाद्यान्न यिनैको माध्यमबाट ल्याइएको हो ।
नेपाल–भारत कृषि सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यले कौशिकलाई विशेष आमन्त्रणमा नेपाल ल्याइएको सङ्घले जनाएको छ ।
सो अवसरमा नेपालकै जेठो मैदा उद्योग, खाद्य उद्योग लिमिटेड तथा सङ्घका संस्थापक अध्यक्ष रवीन्द्रबहादुर श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
FACEBOOK COMMENTS