काठमाडौं । नेपालसँग नियमित रूपमा प्रतिस्पर्धा गर्दै आएका चार टोलीले यसअघि नै एकदिवसीय विश्वकप खेलिसकेका छन्। नेदरल्यान्ड्स, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (यूएई) र नामिबियाले विश्वकपको मुख्य प्रतियोगितामा सहभागिता जनाइसकेका हुन्।
यीमध्ये नेदरल्यान्ड्सले पाँचपटक, स्कटल्यान्डले तीनपटक र यूएईले दुईपटक विश्वकप खेलेका छन्। नामिबियाले भने सन् २००३ मा पहिलोपटक विश्वकप खेलेको थियो।
हाल यी चारै टोली नेपालसँगै सन् २०२७ को एकदिवसीय विश्वकपमा छनोट हुने लक्ष्यसहित प्रतिस्पर्धा गरिरहेका छन्। नेपालले अहिलेसम्म विश्वकपको मुख्य प्रतियोगिता खेल्न सकेको छैन।
विश्वकप छनोट प्रक्रियाअन्तर्गत लिग–२ का शीर्ष चार टोली विश्वकप छनोटमा पुग्नेछन् भने बाँकी टोलीले प्लेअफमार्फत आफ्नो सम्भावना कायम राख्न सक्नेछन्। विश्वकप खेलिसकेका टोलीसँग नियमित प्रतिस्पर्धा गरिरहेको नेपालका लागि यसपटक पहिलोपटक विश्वकपमा पुग्ने अवसरसँगै चुनौती पनि रहेको छ।