काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आर्थिक वर्ष २०८३/८४ को बजेटबारे आफ्नो औपचारिक धारणा सार्वजनिक गर्दै बजेटलाई समग्रमा सन्तुलित र पूर्वाधार निर्माणमा केन्द्रित रहेको बताएको छ।
संघले सरकारको ठूलो मात्रामा सडक तथा पूर्वाधार विकासमा गरिएको बजेट विनियोजनलाई सकारात्मक कदमका रूपमा स्वागत गरेको छ।
नाडाका अनुसार सरकारले कर प्रणालीमा गरेको केही परिवर्तनले सवारी साधनको मूल्यमा असर पार्ने देखिएको छ।
विशेषगरी विद्युतीय सवारी साधनमा लाग्दै आएको अन्त:शुल्क हटाएर ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’ लागू गर्ने निर्णयले बजारमा मूल्य वृद्धि हुन सक्ने संघले जनाएको छ।
संघले मोटर पिक पावरका आधारमा हुँदै आएको महशुल प्रणालीलाई परिवर्तन गरी कारोबार मूल्यका आधारमा कर निर्धारण गर्ने व्यवस्था प्रति पनि ध्यानाकर्षण गराएको छ।

नाडाले स्थिर कर नीति आवश्यक रहेको बताउँदै भविष्यमा कर संरचना थप अनुमानयोग्य र दीर्घकालीन हुनुपर्ने सुझाव दिएको छ।

त्यसैगरी, सवारी साधनको मूल्य स्थिरता कायम गर्न डलरका आधारमा कर निर्धारण गर्नु बढी व्यावहारिक हुने नाडाको धारणा छ। संघले कर नीतिमा बारम्बार हुने परिवर्तनले व्यवसायिक वातावरणमा अनिश्चितता सिर्जना गर्ने उल्लेख गरेको छ।

पूर्वाधार विकासतर्फ सरकारको करिब ३ खर्ब रुपैयाँको लगानी योजनालाई नाडाले सकारात्मक रूपमा लिएको छ।
लामो समयदेखि अधुरा रहेका सडक तथा राजमार्ग सम्पन्न भएमा अटोमोबाइल व्यवसाय समेत थप गतिशील हुने विश्वास संघले व्यक्त गरेको छ।
नाडाले बजेटलाई केही महत्वाकांक्षी भए पनि कार्यान्वयन प्रभावकारी भएमा यसले देशको समग्र अर्थतन्त्रलाई गति दिने निष्कर्ष निकालेको छ।