काठमाडौंं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योग, व्यापार तथा व्यवसायको पुनरुत्थानका लागि नेपाल सरकारले बिहीबार गरेको निर्णयप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले स्वागत गरेको छ ।
सरकारले बाढी प्रभावित निजी क्षेत्रलाई लक्षित गरी भन्सार तथा कर छुट, कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, थप कर्जाको व्यवस्था तथा बीमा दाबी भुक्तानीलाई सहज बनाउने निर्णय गरेको छ ।
विपद्बाट प्रभावित व्यवसायलाई तत्काल राहत दिँदै पुन: सञ्चालनको वातावरण बनाउन सरकारले लिएको यो कदम अत्यन्त सकारात्मक र स्वागतयोग्य रहेको नाडाको धारणा छ ।
विशेषगरी बाढीका कारण पूर्णरूपमा क्षतिग्रस्त वा बगाएर हराएका व्यावसायिक सवारी तथा ढुवानीका साधनको दर्ता खारेज गरी सोही प्रकृतिका साधन पुन: आयात गर्दा भन्सार महसुल छुट दिने निर्णयले अटोमोबाइल तथा ढुवानी व्यवसायीलाई ठूलो राहत पुग्ने नाडा विश्वास गर्दछ। त्यस्तै, क्षतिग्रस्त मेशिनरी तथा उपकरण पुन: आयातमा दिइएको सहुलियत पनि पुन:स्थापनाका लागि महत्वपूर्ण रहेको नाडाले उल्लेख गरेको छ ।
बाढी प्रभावित ऋणीलाई कर्जा पुनर्संरचना, पुनर्तालिकीकरण तथा ब्याजमा सहुलियत दिने निर्णयले व्यवसायीमाथिको तत्कालीन वित्तीय दबाब कम गर्नेछ। साथै, क्षतिग्रस्त सवारी तथा उपकरण पुन: खरिदका लागि कर्जा उपलब्ध गराउने व्यवस्था व्यवसायको निरन्तरताका लागि महत्वपूर्ण रहेको नाडाको निष्कर्ष छ ।

नाडा अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीले भने, “विपद्पछि निजी क्षेत्रलाई पुन: उठाउन सरकारले कर, भन्सार, कर्जा, ब्याज र बीमालाई एकीकृत रूपमा सम्बोधन गर्नु अत्यन्त सकारात्मक कदम हो। यसले प्रभावित व्यवसायीलाई पुन: व्यवसायमा फर्किन महत्वपूर्ण आधार प्रदान गर्नेछ।”
नाडाले सरकारको निर्णयको शीघ्र, सरल र प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायलाई आग्रह पनि गरेको छ । साथै, वास्तविक क्षतिको अध्ययन गरी आवश्यकताअनुसार दोस्रो चरणको पुनरुत्थान प्याकेजसमेत ल्याउन नाडा सरकारसँग अनुरोध गरेको छ ।